
काठमाडौं । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पछिल्लो ६ घण्टामा २७ करोड ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ।
सरकारले बाढी प्रभावितका लागि प्राप्त हुने सहयोगलाई एकद्वार प्रणालीमार्फत संकलन तथा व्यवस्थापन गरिरहेको छ। सोही क्रममा विभिन्न कम्पनी तथा दाताबाट मन्त्रालयमा हस्तान्तरण भएको रकम २७ करोड ३३ लाख पुगेको हो।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विभिन्न दाता तथा कम्पनीबाट प्राप्त सहयोग रकम कोषमा बुझ्दै आएका छन्।
मन्त्रालयका अनुसार कोषमा योगदान गर्ने कम्पनी तथा दाताहरूको विवरण सार्वजनिक गर्ने तयारी गरिएको छ। प्राप्त सहयोग रकम बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका काममा परिचालन गरिनेछ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवासहित नुवाकोट, धादिङ, गोरखा र चितवनका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि सरकारले राहत तथा पुनःस्थापनाका लागि कोषमा सहयोग गर्न आह्वान गरेको छ।

