
काठमाडौं। नेपालमा विद्युत्, ऊर्जा, विद्युतीय सामग्री तथा उपभोक्ता इलेक्ट्रोनिक्स क्षेत्रलाई अन्तर्राष्ट्रिय व्यावसायिक मञ्चसँग जोड्ने उद्देश्यले नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आयोजना हुने भएको छ।
मिडिया स्पेस सोलुसन्स प्रालि, एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि तथा फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा प्रदर्शनी भदौ १९ देखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुनेछ।
आयोजकका अनुसार प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीका स्टल रहनेछन्। विद्युत्, ऊर्जा, विद्युतीय सामग्री, उपभोक्ता इलेक्ट्रोनिक्स तथा घरेलु उपकरण क्षेत्रमा विकास भइरहेका नयाँ प्रविधि, उत्पादन तथा सेवालाई एउटै मञ्चमा प्रदर्शन गर्ने उद्देश्य राखिएको छ।
विद्युत् उत्पादनको प्रभावकारी उपयोगमा जोड
नेपालमा जलविद्युत् उत्पादन बढिरहेको अवस्थामा उत्पादित विद्युत्को प्रभावकारी उपयोग, ऊर्जा दक्षताको प्रवर्द्धन तथा विद्युतीय पूर्वाधारको विकासलाई थप व्यवस्थित बनाउन प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ।
प्रदर्शनीमार्फत ऊर्जा तथा विद्युतीय व्यवसायसँग सम्बन्धित नवीनतम प्रविधि, उत्पादन तथा सेवाको जानकारी उद्योगी, व्यवसायी, उत्पादक, आयातकर्ता, वितरक तथा सेवा प्रदायकसम्म पुर्याउने लक्ष्य राखिएको छ।
यसले विभिन्न क्षेत्रका व्यवसायीबीच नयाँ व्यावसायिक सम्बन्ध तथा सहकार्यका अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।
१०० भन्दा बढी कम्पनीका उत्पादन तथा प्रविधि
प्रदर्शनीमा नेपाली उत्पादनसँगै बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादित विभिन्न विद्युतीय तथा इलेक्ट्रोनिक्स सामग्री प्रदर्शन गरिनेछ।
प्रदर्शनीमा विद्युत् प्रसारण तथा वितरण सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण प्रणाली, घरायसी तार जडान सामग्री, तार तथा केबल, कन्डक्टर, आधुनिक स्विच, एलईडी बत्ती, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरण, कार्यालय प्रविधि, सञ्चार उपकरण, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा प्रणाली लगायतका उत्पादन तथा प्रविधि राखिने आयोजकले जनाएको छ।
त्यस्तै विद्युत् तथा इलेक्ट्रोनिक्स क्षेत्रसँग सम्बन्धित विभिन्न सेवा र नयाँ प्रविधिबारे समेत जानकारी लिन सकिनेछ।
३० हजारभन्दा बढी दर्शक आउने अपेक्षा
प्रदर्शनीमा देश तथा विदेशबाट आमन्त्रित अतिथि, उद्योगी–व्यवसायी, सरकारी अधिकारी, वास्तुविद्, विद्युतीय इन्जिनियर, आन्तरिक सजावट विज्ञ, प्राविधिक, देशभरका विद्युतीय व्यवसायी, सञ्चारकर्मी, विद्यार्थी तथा सर्वसाधारण गरी ३० हजारभन्दा बढी आगन्तुक सहभागी हुने अपेक्षा आयोजकले गरेको छ। प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
आयोजकका अनुसार प्रदर्शनीले विद्युतीय तथा इलेक्ट्रोनिक्स क्षेत्रमा संलग्न व्यवसायीलाई नयाँ उत्पादन र प्रविधिबारे जानकारी लिन, उत्पादक तथा वितरकसँग प्रत्यक्ष सम्पर्क गर्न र सम्भावित व्यावसायिक सहकार्य अघि बढाउन अवसर प्रदान गर्नेछ।
उद्योग र निजी क्षेत्रबीच सहकार्यमा जोड
प्रदर्शनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका उद्योगी, व्यवसायी, उद्यमी, उत्पादक, वितरक तथा सम्बन्धित सरोकारवालालाई एउटै व्यावसायिक मञ्चमा ल्याउने आयोजकले जनाएको छ।
यसबाट ज्ञान, अनुभव तथा प्रविधिको आदानप्रदानसँगै विद्युत् तथा विद्युतीय सामग्रीसम्बन्धी उद्योगको प्रवर्द्धन, व्यापार विस्तार तथा दीर्घकालीन व्यावसायिक सहकार्यलाई बल पुग्ने अपेक्षा गरिएको छ।
उद्योगमैत्री वातावरण निर्माण, नयाँ प्रविधिको प्रवर्द्धन तथा निजी क्षेत्रबीच सहकार्य विस्तारमा समेत प्रदर्शनी महत्वपूर्ण हुने आयोजकको दाबी छ।
विभिन्न संस्थाको सहकार्य
अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपाल चेम्बर अफ कमर्स, नेपाल इन्जिनियर्स एसोसिएसन, सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्म्स, सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल (सीन) तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) सहयोगी संस्थाका रूपमा रहेका छन्।
आयोजकका अनुसार प्रदर्शनीले नेपालमा ऊर्जा, विद्युत् तथा उपभोक्ता इलेक्ट्रोनिक्स उद्योगको व्यावसायिक विस्तार, प्रविधि हस्तान्तरण, लगानी प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय सहकार्यलाई थप सशक्त बनाउनेछ।
यसबाट सम्बन्धित क्षेत्रमा नयाँ लगानी र प्रविधि भित्र्याउन तथा नेपाली व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
