Nepal Purbadhar

पहिरोको जोखिम बढेपछि टोखा-छहरे सडक राति १० बजेदेखि बिहान ५ बजेसम्म बन्द


त्रिशूली। वर्षाका कारण सडकमा पहिरो तथा गेग्रान खस्ने क्रम बढेपछि नुवाकोट जिल्ला प्रशासनले टोखा-छहरे सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरेको छ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार नुवाकोट हुँदै धादिङ र चीनसँगको नाका रसुवागढीसम्म जोड्ने मुख्य सडकमा पहिरोको जोखिम बढेपछि हरेक दिन राति १० बजेदेखि बिहान ५ बजेसम्म यातायात बन्द गरिएको हो।

शिवपुरी गाउँपालिका-८, घट्टेखोलास्थित टोखा-छहरे सडकखण्डमा वर्षाका कारण लेदो, पहिरो तथा गेग्रान खस्ने जोखिम बढेपछि यात्रुको सुरक्षालाई ध्यानमा राख्दै रातिको समयमा अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो। भदौ १ गते रातिदेखि लागू भएको यो व्यवस्था अर्को सूचना जारी नभएसम्म कायम रहनेछ।

जोखिमयुक्त स्थानमा सुरक्षाकर्मी परिचालन गरिएको र एम्बुलेन्सलगायत आकस्मिक सेवाका सवारीसाधनलाई भने सञ्चालन गर्न दिइने छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटले सडक तथा मौसमको अवस्था अझै जोखिमपूर्ण रहेकाले सावधानी अपनाउन र प्रशासनको निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेको छ।

विपद्सम्बन्धी जानकारी तथा सहयोगका लागि जिल्ला प्रहरी कार्यालयको १००, सशस्त्र प्रहरी बलको १११४ र जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको १२३४ मा सम्पर्क गर्न सकिने जनाइएको छ।


Read Previous

तनहुँ जलविद्युत् आयोजनाको १४० मिटर अग्लो बाँध निर्माणमा ६२ प्रतिशत प्रगति

Read Next

बिजुलीको महसुल घटाउने उर्जा मन्त्रालयको तयारी, वर्षायाममा सिजनल ट्यारिफ लागू गर्ने गृहकार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar