Nepal Purbadhar

देशमा बस्ने वातावरण छैन ! विदेश जाउँ पासपोर्ट बनाउनै सास्ती


काठमाडौं । विदेशमा उच्च शिक्षा र रोजगारीको अवसर खोज्ने नेपालीको संख्या बढ्दै जाँदा राहदानी (पासपोर्ट) बनाउने सेवाग्राहीको चाप पनि उल्लेखनीय रूपमा बढेको छ। त्रिपुरेश्वरस्थित राहदानी विभागमा दिनभर लामो लाइन लाग्ने अवस्था देखिएको छ।

सम्भावनाको खोजी र देशभित्र पर्याप्त अवसरको अभावका कारण विदेश जाने तयारीमा रहेका युवाले राहदानी बनाउनसमेत निकै सास्ती भोग्नुपरेको छ। विभागमा दैनिक सयौं सेवाग्राही बिहानैदेखि लाइनमा बस्न बाध्य छन्।

जिल्ला तहमा पनि राहदानी बनाउनेको चाप उच्च रहेको विभागले जनाएको छ। दैनिक करिब १ हजार ५०० राहदानी छापिने दाबी गरिए पनि सेवाग्राहीको भीड भने घट्न सकेको छैन।

दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) मा आवेदन दिनेहरूको संख्या बढेसँगै राहदानी विभागमा यतिबेला अत्यधिक चाप परेको छ। यही अवस्थालाई मध्यनजर गर्दै विभागले बिहीबारदेखि विद्युतीय राहदानीसम्बन्धी सेवा दुई सिफ्टमा सञ्चालन गरेको छ।

विभागका अनुसार पहिलो सिफ्ट बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म र दोस्रो सिफ्ट दिउँसो २ बजेदेखि बेलुकी ९ बजेसम्म सञ्चालन हुनेछ। यो व्यवस्था साउन २२ गतेसम्म लागू रहनेछ।

त्यस्तै, सेवाग्राहीको सुविधाका लागि सार्वजनिक बिदाका दिन शनिबार र आइतबारसमेत बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म विभागबाट राहदानी सेवा प्रदान गरिने जनाएको छ।


Read Previous

वर्ल्डलिंकले बुझायो पोलभाडा बक्यौता, अन्य सेवा प्रदायकलाई पनि शुल्क तिर्न ऊर्जामन्त्रीको आग्रह

Read Next

राहदानी विभागले सार्वजनिक बिदाको दिन पनि आवेदन फाराम लिने, ईपीएस आवेदकलाई राहत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar