
काठमाडौं। राहदानी विभाग, त्रिपुरेश्वरले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै आगामी सोमबार अर्थात् २०८३ साउन १८ गतेसम्म राहदानीका लागि आवेदन फाराम खुला राख्ने जनाएको छ।
विभागले सार्वजनिक बिदाका दिन शनिबार र आइतबारसमेत आवेदन फाराम उपलब्ध गराइने जनाएको हो। साथै, वैदेशिक रोजगार विभागले दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आवेदन दिने म्याद २०८३ साउन १४ गते थप गरेकाले त्यसलाई मध्यनजर गर्दै हाललाई थप आवेदन फारामसमेत खुला गरिएको विभागले जनाएको छ।
विभागले सबै सेवाग्राहीलाई आवेदन फाराममा उल्लेख भएको मिति र समयमा नै विभागमा उपस्थित भई राहदानी सेवा लिन अनुरोध गरेको छ।
यसअघि राहदानी विभागले सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न विद्युतीय राहदानी सेवा दुई सिफ्टमा सञ्चालन गर्ने निर्णयसमेत गरेको थियो।
