Nepal Purbadhar

वर्ल्डलिंकले बुझायो पोलभाडा बक्यौता, अन्य सेवा प्रदायकलाई पनि शुल्क तिर्न ऊर्जामन्त्रीको आग्रह


काठमाडौं। लामो समयदेखि रोकिएको नेपाल विद्युत् प्राधिकरणको विद्युत् पोल भाडा बक्यौता असुली प्रक्रिया कार्यान्वयनमा आएको छ। यसक्रममा इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले नेपाल विद्युत् प्राधिकरणअन्तर्गत वितरण तथा ग्राहक सेवा निर्देशनालय, बागमती प्रदेश डिभिजनल कार्यालयमार्फत पोल भाडा बक्यौता भुक्तानी प्रक्रिया सुरु गरेको छ।

वर्ल्डलिंकले आर्थिक वर्ष २०८२/८३ को स्वःघोषणाका आधारमा निर्धारण गरिएको पोल भाडा रकममध्ये कर कट्टीपछिको रकम भुक्तानी प्रक्रिया अघि बढाएको जनाएको छ। कम्पनीका अनुसार आर्थिक वर्ष २०८१/८२ को हकमा संयुक्त रूपमा गरिएको पोल तथा डीबी बक्सको प्रमाणीकरणका आधारमा हिसाब मिलान गरी यसअघि भएको दोहोरो भुक्तानीसमेत समायोजन गर्दै बाँकी रकम भुक्तानी गरिएको हो।

यसैबीच, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले राज्यको पूर्वाधार उपयोग गर्ने सबै सेवा प्रदायकले कानुनबमोजिम तिर्नुपर्ने शुल्क समयमै भुक्तानी गर्नु दायित्व भएको बताएका छन्।

उनले वर्ल्डलिंकबाट सुरु भएको भुक्तानी प्रक्रियालाई सकारात्मक सुरुआतको रूपमा उल्लेख गर्दै अन्य सेवा प्रदायकहरूले पनि कानुनअनुसार आफ्नो दायित्व पूरा गर्ने विश्वास व्यक्त गरे।

मन्त्री श्रेष्ठले सरकार विधिको शासन र कानुनको निष्पक्ष कार्यान्वयनमा प्रतिबद्ध रहेको स्पष्ट पार्दै कार्यान्वयनका क्रममा देखिने व्यावहारिक समस्याको समाधान कानुनको सीमाभित्र रहेर गरिने बताए।

साथै, कानुन कार्यान्वयनलाई अनावश्यक रूपमा राजनीतिक रंग दिने वा भ्रम सिर्जना गर्ने प्रयासप्रति सचेत रहनुपर्ने उल्लेख गर्दै सबैका लागि समान रूपमा कानुन कार्यान्वयन हुने सरकारको नीति रहेको उनले बताए।


Read Previous

चार वर्षदेखि रोकिएका लाइसेन्स छपाइ सम्पन्न, सम्बन्धित कार्यालयमा पठाइएको छ- विभाग

Read Next

देशमा बस्ने वातावरण छैन ! विदेश जाउँ पासपोर्ट बनाउनै सास्ती

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar