Nepal Purbadhar

हस्तकला क्षेत्रको विकासमा प्रधानमन्त्रीको चासो, सातै प्रदेशमा सीप प्रशिक्षण केन्द्र खोल्ने तयारी


हस्तकला क्षेत्रको विकास र संरक्षणका लागि नयाँ योजना अघि बढाइने

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको मौलिक कला, संस्कृति र परम्परागत सीपसँग जोडिएको हस्तकला क्षेत्रको विकास, संरक्षण र प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

प्रधानमन्त्री शाहले नेपाल हस्तकला व्यवसायी महासंघका प्रतिनिधिलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफलका लागि बोलाउँदै हस्तकला व्यवसायसम्बन्धी नीति, कला संरक्षण, रोजगारी सिर्जना तथा सीप पुस्तान्तरणका विषयमा सरकारको प्राथमिकता स्पष्ट गरेका हुन् ।

छलफलका क्रममा प्रधानमन्त्री शाहले निजी–सरकारी साझेदारी (पीपीपी) मोडलमा हस्तकला विकास बोर्ड गठन गर्ने महासंघको प्रस्तावमा सकारात्मक धारणा व्यक्त गरेका छन् । हस्तकला क्षेत्रको संस्थागत विकासका लागि आवश्यक पहल गर्ने उनले बताएका छन् ।

महासंघले हाल मंसिर २८ गते मनाउँदै आएको हस्तकला दिवसलाई राष्ट्रिय स्तरमा मनाउनुपर्ने माग राखेपछि प्रधानमन्त्री शाहले त्यसका लागि तत्काल गृह मन्त्रालयसँग समन्वय गर्न आफ्नो टिमलाई निर्देशन दिएका छन् ।

हस्तकला सामग्री निर्यातमा हाल कायम स्वघोषणा प्रणालीको सट्टा बिजक मूल्याङ्कन अनिवार्य गर्दा राजस्व वृद्धि गर्न सहयोग पुग्ने महासंघको सुझावमा पनि प्रधानमन्त्री शाह सकारात्मक देखिएका छन् । उनले सोहीअनुसार आवश्यक प्रक्रिया अघि बढाउने आश्वासन दिएका छन् ।

हस्तकला सामग्री निर्यात गर्दा प्राप्त हुनुपर्ने पाँच प्रतिशत रकम तीन वर्षदेखि रोकिएको विषयमा पनि प्रधानमन्त्री शाहले त्यसलाई पुनः निरन्तरता दिने विषयमा आश्वासन दिएका छन् ।

हस्तकला वस्तुको उत्पादन तथा विकासका लागि उद्योग विभागमा निर्माण भएको सार्क हस्तकला विकास केन्द्रको भवन हाल अन्य कार्यालयले प्रयोग गरिरहेको विषयमा महासंघले उक्त भवन फिर्ता गर्न माग गरेको थियो । प्रधानमन्त्री शाहले सोहीअनुसार आवश्यक काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रधानमन्त्री शाहले काठमाडौँ उपत्यकामा हस्तकला ग्राम स्थापना गर्ने तथा सातै प्रदेशमा हस्तकलासम्बन्धी सीप प्रशिक्षण केन्द्र खोल्ने विषयमा समेत विशेष चासो देखाएका छन् ।

निर्माण व्यवसायीसँगको सहकार्यमा कलात्मक संरचना निर्माण गर्न दुई पक्षबीच सम्झौता गराउने महासंघको प्रस्तावमा पनि प्रधानमन्त्री शाह सकारात्मक भएका छन् ।

छलफलमा परम्परागत सीप तथा कलाको संरक्षण, हस्तकलाकर्मीलाई परिचयपत्र उपलब्ध गराउनेलगायत विभिन्न विषयमा महासंघका प्रतिनिधिले माग राखेका थिए । महासंघका प्रतिनिधिले वर्तमान सरकारले हस्तकला क्षेत्रलाई प्राथमिकता दिएको महसुस भएको भन्दै सरकारसँग आवश्यक सहकार्य गर्न तयार रहेको बताएका थिए ।

छलफलमा महासंघका अध्यक्ष रविन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरणकुमार स्थापित, सल्लाहकार विकास रत्न ढाक्वा र शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी थिए ।


Read Previous

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका लागि हुवावेको नयाँ प्रविधि, कसरी गर्छ काम?

Read Next

नास-आईटी एक्स्पो २०२६ नोभेम्बरमा हुने, एआईदेखि साइबर सुरक्षासम्मका नवीन प्रविधि मुख्य आकर्षण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar