Nepal Purbadhar

मध्यरातमा बाढीले डुबायो कीर्तिपुरको होल्डिङ सेन्टर, विस्थापित सुकुम्बासीको बिजोग, ५४ जनाको उद्धार


काठमाडौं। अविरल वर्षापछि बागमती नदीको जलस्तर बढ्दा काठमाडौंको कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेको छ। सेन्टरमा आश्रय लिइरहेका विस्थापित सुकुम्बासीहरू फेरि विस्थापित हुन बाध्य भएका छन्।

डुबानका कारण सेन्टरभित्र पानी पसेपछि सुरक्षाकर्मीले डुङ्गाको प्रयोग गरी केही सामान सुरक्षित स्थानमा निकाले पनि अधिकांश घरायसी सामग्री, लत्ताकपडा र दैनिक उपभोगका आवश्यक सामान पानीले भिजेर नष्ट भएको पीडितहरूले बताएका छन्। उनीहरूका अनुसार राति अचानक बाढी पस्दा धेरैले आफ्नो सामान सुरक्षित स्थानमा सार्ने अवसरसमेत पाएनन्। सुरक्षाकर्मी राति करिब २ बजेपछि मात्रै घटनास्थल पुगेको उनीहरूको गुनासो छ।

गृह मन्त्रालयका अनुसार राति १:३८ बजे डुबानको सूचना प्राप्त हुनासाथ दंगा नियन्त्रण रेजिमेन्टबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा डिजास्टर म्यानेजमेन्ट (डीएम) सहित ३० जना र नेपाल प्रहरीका थप ३० जनाको संयुक्त उद्धार टोली परिचालन गरिएको थियो।

उक्त टोलीले होल्डिङ सेन्टरमा रहेका १५४ जनामध्ये ५४ जनाको उद्धार गरी त्रिभुवन विश्वविद्यालयस्थित स्मृति भवनमा सुरक्षित रूपमा स्थानान्तरण गरेको मन्त्रालयले जनाएको छ। अन्य ६ जना आफन्त वा नजिकैको होस्टलमा बस्न गएका छन् भने ९४ जनाले अन्यत्र जान नमानेपछि सेन्टरभित्रै पानी नपसेको सुरक्षित स्थानमा बसिरहेका छन्।

गृह मन्त्रालयका अनुसार घटनास्थलमा सम्बन्धित विषयगत क्लस्टरहरू सक्रिय रहेका छन्। प्रभावितहरूका लागि खाना, खानेपानी तथा अन्य आवश्यक राहत सामग्रीको व्यवस्थापन भइरहेको मन्त्रालयले जनाएको छ।


Read Previous

भेरी करिडोरमा अस्थायी संरचना निर्माणपछि सवारी सञ्चालन

Read Next

वर्षौंदेखिको दाउन्ने जामको सास्ती घट्यो, नारायणघाट-बुटवल यात्रा सहज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar