Nepal Purbadhar

तनहुँ जलविद्युत् आयोजनाका लागि आगामी वर्ष ६ अर्ब रुपैयाँ बजेट, निर्माण प्रगति ७५.५ प्रतिशत

default


दमौली। सरकारले तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका लागि आगामी आर्थिक वर्षमा छ अर्ब रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आयोजना निर्माणलाई तीव्रता दिन उक्त बजेट उपलब्ध गराएको हो।

ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन आयोजनाको काम तीनवटा प्याकेजमार्फत अघि बढिरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए। उनका अनुसार हालसम्म आयोजनाको समग्र भौतिक प्रगति ७५.५ प्रतिशत पुगेको छ।

आयोजनाको प्याकेज-१ अन्तर्गत बाँध तथा हेडवर्क्स निर्माण, प्याकेज-२ अन्तर्गत मुख्य सुरुङ, विद्युत्गृह र सम्बन्धित उपकरण जडान तथा प्याकेज-३ अन्तर्गत दमौली-भरतपुर २२० केभी प्रसारण लाइन निर्माणको काम भइरहेको छ।

बाँध तथा हेडवर्क्सतर्फको भौतिक प्रगति ५९ प्रतिशत पुगेको छ। मुख्य बाँध निर्माणका लागि आवश्यक डाँडा कटान, पहुँच सडक, सेती नदीको धार परिवर्तन गर्न बनाइएको अस्थायी बाँध तथा दुई वटा डाइभर्सन सुरुङ निर्माण सम्पन्न भइसकेका छन्।

यस्तै, विद्युत्गृह, केबल सुरुङ, सर्ज ट्याङ्क र टेलरेसलगायत संरचनाको मुख्य कङ्क्रिटिङ कार्य सम्पन्न भएको छ। यस प्याकेजको भौतिक प्रगति ७७ प्रतिशत पुगेको आयोजनाले जनाएको छ।

हाल जलाशयबाट विद्युत्गृहसम्म पानी पुर्‍याउने मुख्य सुरुङको कङ्क्रिट लाइनिङको काम भइरहेको छ। प्रसारण लाइनतर्फ ९४ वटा टावरमध्ये ७८ वटा टावरको जग निर्माण सम्पन्न भइसकेको छ।

सरकारले पर्याप्त बजेट सुनिश्चित गरेसँगै आयोजनाको बाँकी निर्माण कार्यलाई थप गति दिने अपेक्षा गरिएको छ। आयोजना सम्पन्न भएपछि राष्ट्रिय विद्युत् प्रणालीमा १४० मेगावाट विद्युत् थपिनेछ, जसले देशको ऊर्जा आपूर्तिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।


Read Previous

भेरी-बबई आयोजनाको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न १३२ केभी प्रसारण लाइन निर्माण गरिने

Read Next

आयातित टायलको विकल्प बन्दै स्वदेशी ‘लामिनार’, दैनिक १.४ लाख वर्गफिट उत्पादन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar