
भोजपुर। भोजपुरको तेजिङ-हिलारी राजमार्गअन्तर्गत पर्ने थुम्लुङ खोलामा पक्की पुल निर्माणको काम तीव्र रूपमा अघि बढेको छ। साल्पासिलिछो गाउँपालिका-६ स्थित थुम्लुङ खोलामा निर्माणाधीन पुलको हालसम्म ५५ प्रतिशत काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ।
पूर्वाधार विकास कार्यालयका अनुसार कोशी प्रदेश सरकारको करिब चार करोड ९४ लाख ४५ हजार रुपैयाँको लागतमा पुल निर्माण भइरहेको हो। हालसम्म पिलरसहितका मुख्य संरचनात्मक काम सम्पन्न भइसकेका छन्।
एक स्पानमा निर्माण भइरहेको पुल ३५ मिटर लामो र फुटपाथसहित ८.४ मिटर चौडा हुनेछ। ‘ओपन फाउन्डेसन’ प्रविधिमा निर्माण भइरहेको यो पुलले साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिका जोड्ने छ।
विसं २०८२ असोजमा निर्माण सम्झौता भएको उक्त पुल २०८४ असोजभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। पुल निर्माणको जिम्मा कोसेली-नौलाखा-जय गोविन्द जेभीले लिएको छ।

