Nepal Purbadhar

तनहुँ जलविद्युत आयोजनाद्वारा प्रभावित क्षेत्रमा सात योजना निर्माणाधीन

फाइल तस्बीर।


दमौली। तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाले प्रभावित क्षेत्रमा सामुदायिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सात वटा विकास योजना निर्माण गरिरहेको छ।

आयोजनाका अनुसार गत वैशाखमा दुई वटा योजना सम्पन्न भएका छन्। म्याग्दे गाउँपालिका-३ को किल्चोक शाखा सडकमा नाला निर्माण तथा ऋषिङ गाउँपालिका-१ होक्सेटारमा खानेपानी मुहान र पाइप सुधारको काम सम्पन्न भएको छ।

आयोजनामार्फत हालसम्म प्रभावित क्षेत्रमा ९६ वटा योजना सम्पन्न भइसकेका छन्। सामुदायिक विकास कार्यक्रमअन्तर्गत उपभोक्ता समितिमार्फत सामुदायिक विकास तथा जीविकोपार्जन पुनर्स्थापना कार्यक्रम सञ्चालन भइरहेको छ। उपभोक्ता समितिबाट सञ्चालित योजनाको वातावरणीय तथा सामाजिक व्यवस्थापन सेवा प्रदायकमार्फत नियमित अनुगमनसमेत हुँदै आएको छ।

हाल ऋषिङ गाउँपालिका-७ मा माछदाङ-टुनीबोट ट्रेल पुलसम्म पहुँच सडक निर्माण, भिमाद नगरपालिका-५ मा फेदीखोला मोटरेबल पुल निर्माण तथा डाडीवन-चुलेसी पहुँच मार्ग निर्माणको काम भइरहेको छ। त्यसैगरी ऋषिङ र म्याग्दे गाउँपालिकालाई जोड्ने सेती नदीमाथि चुलेसी, टुनीबोटे, ब्ल्याङ र टुटुवामा निर्माण गरिने चार वटा झोलुङ्गे पुलका लागि लठ्ठा आपूर्ति तथा ढुवानीको काम पनि अघि बढाइएको छ।

यस्तै, भिमाद नगरपालिका-५ स्थित वानटाङ खोलामा पक्की पुल निर्माण, म्याग्दे गाउँपालिका-५ फूलबारीको सामुदायिक भवन संरक्षणका लागि पर्खाल निर्माण तथा ऋषिङ गाउँपालिका-१ गैराखुदीस्थित दीपक माध्यमिक विद्यालय भवन निर्माण कार्यसमेत जारी रहेको आयोजनाले जनाएको छ।

समुदायको सहकार्यबिना आयोजना सफल हुन नसक्ने भएकाले सामाजिक विकासका कामलाई प्राथमिकतामा राखिएको आयोजनाले जनाएको छ। समुदायसँगको सहकार्यलाई थप मजबुत बनाउँदै आयोजना सम्पन्न गर्ने लक्ष्यका साथ विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गरे।

तनहुँ जलविद्युत आयोजनाको प्याकेज-१ अन्तर्गत बाँधलगायत हेडवर्क्स संरचना, प्याकेज-२ अन्तर्गत मुख्य सुरुङ, विद्युत्गृह तथा सम्बन्धित उपकरण निर्माण, र प्याकेज-३ अन्तर्गत दमौली-भरतपुर २२० केभी प्रसारण लाइन निर्माणको काम एकसाथ अघि बढिरहेको छ।


Read Previous

हिमाली हावा र हिमशृङ्खलाको अनुपम अनुभव दिने ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’

Read Next

ऊर्जामन्त्री श्रेष्ठले गरे मर्स्याङ्दी जलविद्युत् आयोजनाको निरीक्षण, सञ्चालन अवस्थाबारे चासो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar