
काठमाडौं। रसुवाको प्रसिद्ध पर्यटकीय क्षेत्र लाङटाङको क्यान्जिन गुम्बा र आसपासका क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा विस्तार गरिएको छ। प्रसारण लाइन जडान भएसँगै त्यहाँका बासिन्दा तथा व्यवसायीले नियमित विद्युत् सुविधा पाउन थालेका छन्।
नेपाल विद्युत् प्राधिकरण रसुवा वितरण केन्द्रका प्रमुख गुञ्जमान तामाङका अनुसार गोसाइँकुण्ड गाउँपालिका–४ अन्तर्गत पर्ने क्यान्जिन गुम्बा क्षेत्रलाई केन्द्रीय प्रसारण लाइनसँग जोडिएपछि स्थानीय स्तरमा विद्युत् आपूर्ति सहज भएको हो।
प्राधिकरणले गोसाइँकुण्ड, लाङटाङलगायतका दुर्गम तथा पर्यटकीय क्षेत्रमा विद्युत् सेवा विस्तार गर्न करिब ९ करोड रुपैयाँ लगानी गरेको जनाएको छ। नयाँ लाइन सञ्चालनमा आएपछि लाङटाङ क्षेत्रका करिब २ सय घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
विद्युत् सेवा विस्तारसँगै होटल व्यवसायी, स्थानीय बासिन्दा तथा पर्यटकहरू उत्साहित भएका छन्। विशेषगरी क्यान्जिन भ्यालीमा सञ्चालित चिज उद्योग, बेकरी उद्योग तथा अन्य साना घरेलु उद्योगलाई व्यवसाय सञ्चालनमा सहजता मिलेको छ। ठूला होटल तथा पर्यटन व्यवसायले पनि भरपर्दो विद्युत् सेवाबाट लाभ लिन थालेका छन्।
समुद्री सतहबाट करिब ३ हजार ८७० मिटर उचाइमा रहेको क्यान्जिन गुम्बा लाङटाङ राष्ट्रिय निकुञ्जभित्रको एक महत्वपूर्ण हिमाली बस्ती तथा लोकप्रिय पदयात्रा गन्तव्य हो। यहाँबाट हिमाल, हिमनदी र आसपासका प्राकृतिक दृश्य अवलोकन गर्न सकिने भएकाले स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण केन्द्रका रूपमा परिचित छ।
यसअघि उक्त क्षेत्रमा कादुरी फाउन्डेसनको सहयोगमा निर्माण गरिएको १०० किलोवाट क्षमताको च्योहा खोला लघु जलविद्युत् आयोजनाबाट विद्युत् सेवा उपलब्ध हुँदै आएको थियो। तर आयोजना बिग्रिएपछि मर्मतमा समय लाग्ने देखिएपछि वडा कार्यालयको समन्वयमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय लाइन जोडिएको वडा नं. ४ का अध्यक्ष डिण्डु लामा जाङ्वा तामाङले बताए।
उनका अनुसार भविष्यमा लघु जलविद्युत् आयोजना मर्मत गरी प्राधिकरणको प्रसारण प्रणालीसँग ‘सिङ्क्रोनाइज’ गरेर सञ्चालन गर्ने योजना रहेको छ। प्राधिकरणले विद्युत् सेवा नपुगेका तथा पर्यटकीय महत्वका क्षेत्रहरूमा विद्युत् विस्तार अभियानलाई निरन्तरता दिएको जनाएको छ।
