
काठमाडौं । सरकारले संखुवासभा जिल्लामा निर्माण प्रस्ताव गरिएको ४५४ मेगावाट क्षमताको किमाथांका अरुण जलविद्युत आयोजना
निर्माण अघि बढाउने भएको छ।
आयोजनाको विद्युत उत्पादन कम्पनी लिामिटेडले वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन सार्वजनिक गर्दै सरोकारवालासँग राय–सुझाव माग गरेको छ।
कृषि, वन तथा वातावरण मन्त्रालयमा पेश गरिएको ईआईए प्रतिवेदन अनुसार आयोजनाको प्रवर्द्धक विद्युत उत्पादन कम्पनी लिमिटेड रहेको छ। कोशी प्रदेशको संखुवासभा जिल्लास्थित भोटखोला गाउँपालिकामा निर्माण हुने यो आयोजना अर्धजलाशय (PROR) प्रकृतिको हुनेछ। यसको जडित क्षमता ४५४ मेगावाट रहनेछ।
प्रतिवेदन अनुसार आयोजनाका लागि १४० मिटर अग्लो बाँध निर्माण गरिनेछ। बाँध भोटखोला गाउँपालिका–२ को छुम्सुरु गाउँ नजिक अरुण नदीमा निर्माण हुने प्रस्ताव गरिएको छ। आयोजना चीन सीमाबाट करिब ३ किलोमिटर तल पर्ने क्षेत्रमै अवस्थित हुनेछ।
आयोजनाबाट सुक्खा मौसममा उच्च माग हुने समयमा ४८५.९३ गिगावाट घण्टा तथा उच्च माग नहुने समयमा २७९.२८ गिगावाट घण्टा विद्युत उत्पादन हुने अनुमान गरिएको छ। वार्षिक रूपमा कुल २,५५१.१६ गिगावाट घण्टा ऊर्जा उत्पादन हुने प्रतिवेदनमा उल्लेख छ।

उत्पादित विद्युत करिब १८.५ किलोमिटर लामो ४०० केभी प्रसारण लाइनमार्फत संखुवासभाको मकालु गाउँपालिकास्थित प्रस्तावित हाईटार सबस्टेसनमा जोडिनेछ।
ईआईए प्रतिवेदन अनुसार आयोजनाको कुल लागत करिब ९३ अर्ब ८० करोड रुपैयाँ रहने अनुमान गरिएको छ।
आयोजना निर्माणका लागि कुल १६८.७३ हेक्टर जग्गा आवश्यक पर्नेछ। यसमध्ये मकालु–बरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा १४०.८३ हेक्टर तथा मध्यवर्ती क्षेत्रबाहिर २७.९ हेक्टर जग्गा प्रयोग हुने जनाइएको छ।
निर्माण अवधिमा करिब २,५०० जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ। आयोजनाका लागि झण्डै ५९ लाख ६१ हजार बोरा सिमेन्ट, ८ लाख १७ हजार घनमिटर बालुवा, १३ लाख ६४ हजार घनमिटर एग्रिगेट तथा २० लाख किलोग्रामभन्दा बढी विस्फोटक पदार्थ आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ।
मन्त्रालयले वातावरण संरक्षण नियमावलीअनुसार प्रतिवेदन सार्वजनिक गर्दै सरोकारवाला निकाय, स्थानीयवासी तथा विज्ञहरूलाई राय–सुझाव दिन आह्वान गरेको छ। प्रतिवेदनमा प्राप्त हुने सुझावलाई आयोजना स्वीकृतिको प्रक्रियामा समावेश गरिने जनाइएको छ।

