Nepal Purbadhar

राप्ती नदीमा बोटिङले बदल्दै सौराहाको पर्यटन अनुभव

तस्बीर स्रोत: फोटो लाइब्रेरी


चितवन । चितवनको सौराहा भन्नासाथ जंगल सफारी, हात्ती प्रजनन केन्द्र, थारु संस्कृति र वन्यजन्तु अवलोकनको दृश्य आँखाअघि आउँछ। पछिल्लो समय यहाँ सुरु भएको नयाँ पर्यटकीय गतिविधि ‘राप्ती नदी बोटिङ’ पर्यटकका लागि थप आकर्षण बनेको छ। जंगलबीचबाट बग्ने राप्ती नदीमा सञ्चालन गरिएको बोटिङले सौराहाको पर्यटनमा नयाँ आयाम थपेको छ।

गत कात्तिकदेखि सञ्चालनमा आएको यो सेवा अहिले आन्तरिक तथा विदेशी दुवै पर्यटकको रोजाइमा पर्न थालेको छ। चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने राप्ती नदीमा जिन्दगानी घाटदेखि भिमपुर घाटसम्म करिब ६ किलोमिटर दूरीमा बोटिङ गराइन्छ। यस क्रममा पर्यटकले नदी यात्रा गर्दै निकुञ्जको प्राकृतिक सौन्दर्य र वन्यजन्तु नजिकबाट अवलोकन गर्न पाउँछन्।

राप्ती नदीको शान्त जलयात्राका क्रममा पर्यटक। तस्बीर स्रोत: फोटो लाइब्रेरी

हाल आठवटा डुङ्गा सञ्चालनमा छन्। प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क तिरेर यो सेवा लिन सकिन्छ। सञ्चालनमा आएको केही महिनामै करिब दुई हजार पर्यटकले बोटिङ अनुभव लिइसकेको व्यवस्थापन पक्षले जनाएको छ।

चितवन राष्ट्रिय निकुञ्जले टेन्डर आह्वान गरेपछि यो सेवा सुरु भएको हो। यसको व्यवस्थापन किनार रेष्टुरेन्ट एण्ड बारले गरेको छ। पर्यटन व्यवसायीहरूका अनुसार सौराहामा पर्यटकको बसाइ लम्ब्याउने र गुणस्तरीय सेवा दिने उद्देश्यले बोटिङ सुरु गरिएको हो।

बन्बास होटलका प्रबन्ध निर्देशक बासु ढुङ्गानाका अनुसार सौराहा केवल सस्तो पर्यटन गन्तव्य मात्र नभई उच्चस्तरीय तथा अन्तर्राष्ट्रिय पर्यटकका लागि पनि उपयुक्त गन्तव्य हो। उनका अनुसार सौराहामा आउने पर्यटकलाई होटल र जंगल सफारीमै सीमित नराखी थप अनुभव दिन बोटिङ सेवा सुरु गरिएको हो। विशेषगरी स्तरीय होटलमा बस्ने पर्यटकहरू यसमा बढी सहभागी हुने गरेका छन्।

राप्ती नदीको शान्त जलयात्राका क्रममा पर्यटक। तस्बीर स्रोत: फोटो लाइब्रेरी

राप्ती नदीको शान्त जलयात्राका क्रममा पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको जैविक विविधता नजिकबाट हेर्न पाउँछन्। नदी किनार र आसपासका जंगलमा एकसिङ्गे गैँडा, रोयल बंगाल बाघ, मृग, घडियाल गोही तथा विभिन्न प्रजातिका चराचुरुङ्गी देख्न सकिन्छ। जाडोयाममा आउने प्रवासी चराहरूको अवलोकन पनि यो यात्राको अर्को आकर्षण बनेको छ।

सन् १९८४ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज हो। ९५२ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको यो निकुञ्ज जैविक विविधताका हिसाबले विश्वकै महत्वपूर्ण संरक्षित क्षेत्रमध्ये एक मानिन्छ। यहाँ ७०० भन्दा बढी वनस्पति, ६० भन्दा बढी स्तनधारी, ५४० भन्दा बढी चराचुरुङ्गी तथा विभिन्न सरीसृपका प्रजाति पाइन्छन्।

राप्ती नदीको शान्त जलयात्राका क्रममा पर्यटक। तस्बीर स्रोत: फोटो लाइब्रेरी

पर्यटन व्यवसायीहरूका अनुसार बोटिङले पर्यटकलाई नयाँ अनुभव दिनुका साथै स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ। डुङ्गा चालक, पर्यटन श्रमिक, होटल व्यवसायी र स्थानीय समुदाय प्रत्यक्ष लाभान्वित भएका छन्। बोटिङबाट संकलित आम्दानीको १० प्रतिशत रकम सामुदायिक वनमा जाने व्यवस्था गरिएको छ, जसले संरक्षण र पर्यटनबीचको सम्बन्धलाई थप मजबुत बनाएको छ।

पछिल्ला वर्षहरूमा नेपालमा दिगो पर्यटन र पर्यापर्यटनको अवधारणाले महत्व पाउँदै गएको छ। सौराहाको बोटिङ सेवा त्यसैको उदाहरण बनेको छ, जहाँ प्राकृतिक सम्पदाको संरक्षणसँगै स्थानीय आयआर्जन र पर्यटकलाई गुणस्तरीय अनुभव दिने प्रयास गरिएको छ।

जंगलबीच बग्ने राप्ती नदीमा डुङ्गा चढ्दै वन्यजन्तु र चराचुरुङ्गी अवलोकन गर्ने अवसरले सौराहाको पर्यटनलाई थप आकर्षक बनाएको छ। प्रकृतिसँग नजिक हुन चाहने पर्यटकका लागि सौराहाको बोटिङ यात्रा नयाँ र रोचक विकल्प बनेको छ।

राप्ती नदीको शान्त जलयात्राका क्रममा पर्यटक। तस्बीर स्रोत: फोटो लाइब्रेरी
राप्ती नदीको शान्त जलयात्राका क्रममा पर्यटक। तस्बीर स्रोत: फोटो लाइब्रेरी
राप्ती नदीको शान्त जलयात्राका क्रममा पर्यटक। तस्बीर स्रोत: फोटो लाइब्रेरी
राप्ती नदीको शान्त जलयात्राका क्रममा पर्यटक। तस्बीर स्रोत: फोटो लाइब्रेरी

Read Previous

पेट्रोलियम पदार्थ व्यवसायिक उत्पादनको तयरी, चाइना जियोलोजिकल सर्भेसंग सम्झौता अन्तिम चरणमा

Read Next

एभरेस्ट टुरिजम अवार्ड २०२६ सम्पन्न, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्व सम्मानित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar