
काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा स्टार्टअप, साना तथा मझौला उद्यम र नवप्रवर्तनलाई प्रवर्द्धन गर्न रु ४ अर्ब बजेट विनियोजन गरेको छ। यसअन्तर्गत राष्ट्रिय उद्यम इकोसिस्टम सुदृढ गर्न नयाँ संरचना र कार्यक्रमहरू अघि सारिएको छ।
सरकारले स्टार्टअप तथा साना–मझौला उद्यमलाई एकीकृत रूपमा सहजीकरण गर्न “नेपाल इन्टरप्राइज फसिलिटी” स्थापना गर्ने भएको छ। यस प्लेटफर्ममार्फत नीतिगत समन्वय, नवीन वित्तीय उपकरणको पहुँच, इन्क्युवेशन सहयोग र स्वदेशी उद्यम प्रवर्द्धनलाई एकीकृत रूपमा अघि बढाइनेछ। यसका लागि रु ५० करोड विनियोजन गरिएको छ।
कृषि र पशुजन्य उद्यम गर्न चाहने एक हजार युवालाई स्टार्टअप सुविधा उपलब्ध गराइनेछ। साथै युवा वैज्ञानिकका लागि अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिनेछ।
खगोलीय पर्यटन प्रवर्द्धनका लागि सगरमाथा आधार शिविर मा अब्जर्भेटरी केन्द्र स्थापना गर्ने योजना पनि सरकारले अघि सारेको छ।
विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रमार्फत देशभित्रै अनुसन्धान र स्टार्टअप विकासलाई बलियो बनाउने सरकारको लक्ष्य रहेको छ।
