Nepal Purbadhar

खर्चै गर्दैनन् पर्यटक, दैनिक खर्च घट्दो, यातायात महंगो हुँदा अन्य खर्च खुम्चियो


काठमाडौं। नेपाल भ्रमणमा आउने पर्यटकको औसत दैनिक खर्च १९ प्रतिशतले घटेको छ। सरकारद्वारा हालै सार्वजनिक गरिएको आर्थिक सर्वेक्षणले पर्यटकको आगमन बढे पनि प्रतिदिन खर्च घट्दै गएको देखाएको हो।

आर्थिक सर्वेक्षणअनुसार गत आर्थिक वर्षमा नेपाल आउने पर्यटकको औसत दैनिक खर्च ४०.८४ अमेरिकी डलर रहेकामा सन् २०२५ मा यो घटेर ३३.०८ अमेरिकी डलरमा झरेको छ। पर्यटन व्यवसायीहरूले यसलाई गम्भीर संकेतका रूपमा लिएका छन्।

नेपाल पर्यटन व्यवसायीहरूका अनुसार पर्यटक खर्च घट्नुले पर्यटन क्षेत्रमार्फत मुलुकको आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न चुनौती थपिएको छ। नेपाल भ्रमणमा आउने पर्यटकको ठूलो हिस्सा यात्रा खर्चमै बढी रकम खर्च गर्न बाध्य हुने भएकाले यहाँ आएपछि थप खर्च गर्ने क्षमता घटिरहेको व्यवसायीको भनाई छ।

उनीहरूका अनुसार यातायात लागत अत्यधिक महँगो हुनु, सुविधायुक्त पूर्वाधारको कमी हुनु र आकर्षक प्याकेजको अभावले पर्यटकको खर्च गर्ने प्रवृत्ति कमजोर भएको हो। पर्यटकको यात्रा टिकटमै ठूलो रकम खर्च हुने, त्यसपछि नेपालभित्र खर्च गर्ने क्षमता घट्ने गरेको उनीहरूको बुझाई छ।

व्यवसायीहरूले लक्जरी पर्यटन प्याकेज विकास गर्नुपर्ने, सडक तथा यातायात सुविधा सुधार गर्नुपर्ने र पर्यटकमैत्री संरचना निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। साथै ट्राभल शुल्क घटाएर र गुणस्तरीय सेवा विस्तार गरेर मात्र पर्यटक खर्च वृद्धि गर्न सकिने उनीहरूको धारणा छ।

सर्वेक्षणले सन् २०२५ मा पर्यटक आगमन १.३ प्रतिशतले बढेर करिब ११ लाख ६२ हजार ३६५ पुगेको देखाएको छ। अघिल्लो वर्ष यो संख्या ११ लाख ४७ हजार ५४८ थियो। यद्यपि खर्च घटेको तथ्यांकले प्रतिपर्यटक आयमा दबाब परेको देखिन्छ।

नेपाल आउने पर्यटकमध्ये ६०.२ प्रतिशत बिदा तथा मनोरञ्जनका लागि आउने गरेका छन्। त्यस्तै, तीर्थयात्रा गर्ने पर्यटक १४.४ प्रतिशत, पदयात्रा तथा पर्वतारोहणका लागि १४.२ प्रतिशत र अन्य उद्देश्यका लागि ११.२ प्रतिशत रहेका छन्।

पर्यटकको बसाइ अवधि भने बढेको छ। सन् २०२४ मा औसत बसाइ १३.३० दिन रहेकोमा सन् २०२५ मा बढेर १६.३४ दिन पुगेको छ। यसले नेपालमा बसाइ लामो भए पनि प्रतिदिन खर्च घटेको संकेत गरेको छ।

देशगत रूपमा भारतबाट करिब २ लाख ९३ हजार पर्यटक आएका छन्। त्यसैगरी अमेरिका, चीन, बेलायत, बङ्गलादेश, अष्ट्रेलिया, श्रीलङ्का, थाइल्यान्ड, जर्मनी, जापान लगायत देशबाट पनि उल्लेख्य संख्या आएको तथ्यांकले देखाएको छ।

गत वर्ष पर्यटन क्षेत्रबाट ८३ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी भ्रमण आय प्राप्त भएको थियो। तर व्यवसायीहरूले सेवा सुधार, गुणस्तरीय उत्पादन र पर्यटकमैत्री वातावरण नबनेसम्म पर्यटनबाट अपेक्षित आर्थिक लाभ हासिल गर्न कठिन हुने बताएका छन्।


Read Previous

विश्वकप नजिक इरानलाई अमेरिकी भिसाको डर, फिफाले बहुप्रवेशी भिसा उपलब्ध गराउने आशा

Read Next

बजेटबारे राष्ट्रपतिसंग अर्मन्त्रीको ब्रिफिङ: ‘व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने लक्ष्य छ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar