Nepal Purbadhar

दोस्रो भक्तपुर औद्योगिक प्रवर्द्धन व्यापार मेला २०८३ शुक्रबारदेखि शुरू हुने


भक्तपुर । “हस्तकला, मौलिक संस्कृति र दिगो पर्यटन–विकसित र व्यवसायिक भक्तपुर हाम्रो चिन्तन” भन्ने नारासहित दोस्रो भक्तपुर औद्योगिक प्रवर्द्धन व्यापार मेला २०८३ शुक्रबारदेखि शुरू हुने भएको छ ।

भक्तपुर उद्योग वाणिज्य संघको आयोजना र उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा जेठ १५ र १६ गते उक्त मेला भक्तपुर औद्योगिक क्षेत्र परिसरमा सञ्चालन हुनेछ ।

आयोजकका अनुसार स्थानीय स्रोत र साधनमा आधारित हस्तकलाका उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्नुका साथै उद्योग, व्यापार, कृषि, पर्यटन र संस्कृतिको विकासमार्फत जिल्लाको आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले मेला आयोजना गरिएको हो ।

दुई दिनसम्म चल्ने मेलामा करिब ५० हजारभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने अपेक्षा गरिएको छ ।

मेलामा मौलिक हस्तकला उत्पादन, कृषि उत्पादन, तयारी पोशाक, बालबालिकाका खेलौना, गरगहना, सौन्दर्य सामग्री, मूर्ति तथा उपहार सामग्री, रैथाने तथा अर्गानिक खाद्य वस्तु, इलेक्ट्रोनिक्स लगायत विभिन्न सामग्रीका ६० भन्दा बढी स्टल रहनेछन् ।

साथै मेलामा स्थानीय खानाका स्टलहरू, सांगीतिक कार्यक्रम तथा बालबालिकाका लागि बाल उद्यानको व्यवस्था समेत गरिने आयोजकले जनाएको छ ।

सार्वजनिक बिदा परेको शुक्रबार र शनिबार हुने मेलामा आन्तरिक तथा बाह्य पर्यटक, उपभोक्ता, हस्तकला व्यवसायी, थोक तथा खुद्रा व्यापारी, संघ–संस्था, सरकारी निकाय, विद्यार्थी तथा वित्तीय संस्थाका प्रतिनिधिहरूको विशेष उपस्थिति रहने अपेक्षा गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ मेलाको सहयोगी संस्थाका रूपमा रहेको छ भने इन्ट्रोडक्सन ट्रेड सो नेपाल प्रालिले मेला व्यवस्थापनको जिम्मेवारी लिएको छ ।


Read Previous

भारत–अमेरिकाबीच खनिज आपूर्ति सम्झौता, श्रीलङ्कामा मुद्रास्फीति नियन्त्रणकालागि ब्याजदर समायोजन

Read Next

४९ झोलुङ्गे पुल अलपत्र, निर्माण व्यवसायीमाथि कानुनी कारबाही गर्न महालेखा परीक्षकको सुझाव

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar