Nepal Purbadhar

४९ झोलुङ्गे पुल अलपत्र, निर्माण व्यवसायीमाथि कानुनी कारबाही गर्न महालेखा परीक्षकको सुझाव


काठमाडौं। तुइन विस्थापन गरी नागरिकलाई सहज आवतजावतका लागि निर्माण शुरू गरिएका ४९ वटा झोलुङ्गे पुल अलपत्र अवस्थामा रहेको पाइएको छ ।

महालेखापरीक्षकको कार्यालयको ६३औँ वार्षिक प्रतिवेदनअनुसार झोलुङ्गे पुल निर्माणको जिम्मा लिएर काम अधुरो छाड्ने निर्माण व्यवसायीलाई कानुनी दायरामा ल्याउन सुझाव दिइएको छ ।

सस्पेन्सन ब्रिज डिभिजनमार्फत आर्थिक वर्ष २०६९/७० देखि २०७८/७९ सम्म झोलुङ्गे पुल निर्माणका लागि रु १ अर्ब ३९ करोड १२ लाख बराबरको सम्झौता गरिएको थियो । त्यसमध्ये रु ७८ करोड ३४ लाख ४३ हजार भुक्तानी भइसकेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले बजेट भुक्तानी भए पनि ४९ वटा पुलको निर्माण प्रक्रिया अलपत्र रहेको भन्दै जिम्मेवार निर्माण व्यवसायीमाथि तत्काल कानुनी कारबाही गर्न सुझाव दिएको छ ।

सार्वजनिक खरिद नियमावलीअनुसार अधुरा ठेक्कामा पेस्की जमानत जफत गर्ने, क्षतिपूर्ति असुल गर्ने, कालोसूचीमा राख्ने र बाँकी काम पूरा गराउने व्यवस्था भए पनि त्यसअनुसार कार्यान्वयन नभएको प्रतिवेदनमा उल्लेख छ ।

सरकारले २०७२ असोज २५ को निर्णयअनुसार तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्ने कार्यक्रम अघि बढाएको थियो । यसअन्तर्गत कुल ३०० पुल निर्माण गर्ने लक्ष्य रहेकामा हालसम्म २९१ पुल निर्माण सम्पन्न भएका छन् भने १४३ तुइनमध्ये १४१ स्थानमा पुल निर्माण भइसकेको छ ।

त्यस्तै सुर्खेत र कैलाली जोड्ने बुगाडघाटमा कर्णाली नदीमाथि निर्माणाधीन झोलुङ्गे पुलको काम पनि ढिलो भइरहेको प्रतिवेदनमा उल्लेख छ । उक्त आयोजनाका लागि २०७४ माघ २३ मा रु ५६ लाख ९ हजारको लागत स्वीकृत गरिएको थियो ।

सातौँ पटक म्याद थप गरी आगामी असार ३० गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि भौतिक प्रगति न्यून रहेको प्रतिवेदनले देखाएको छ ।

महाकालीको पश्चेश्वरघाटमा तुइन प्रतिस्थापन कार्यक्रम पनि कार्यान्वयनमा ढिलाइ भएको भन्दै सम्बन्धित निकायलाई समन्वय गरी लक्ष्यअनुसार काम अघि बढाउन सुझाव दिइएको छ ।

त्यसैगरी झापाको पिन्डलवारी मल्टिस्पान झोलुङ्गे पुल निर्माणका लागि रु ६ करोड ५९ लाख ९४ हजारको ठेक्का सम्झौता भएकोमा काम तोकिएको समयमा पूरा नभएपछि २०८२ जेठ ३० गते ठेक्का सम्झौता अन्त्य गरिएको प्रतिवेदनमा उल्लेख छ ।

उक्त परियोजनामा निर्माण व्यवसायीलाई दिइएको पेस्की बापतको बाँकी रु १ करोड १४ लाख ५४ हजार असुली प्रक्रिया अदालतमा विचाराधीन रहेको पनि जनाइएको छ ।


Read Previous

दोस्रो भक्तपुर औद्योगिक प्रवर्द्धन व्यापार मेला २०८३ शुक्रबारदेखि शुरू हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar