
काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ (एपीजी)का प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ।
प्रहरी प्रधान कार्यालय नक्सालमा मंगलबार भएको भेटमा नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी सघन निगरानी सूची ‘ग्रे लिस्ट’बाट बाहिर ल्याउन गरिएका प्रयासबारे छलफल भएको प्रहरीले जनाएको छ।
भेटका क्रममा प्रहरी महानिरीक्षक कार्कीले नेपालले तयार गरेको कार्ययोजनाको कार्यान्वयनमा नेपाल प्रहरीको भूमिकाबारे जानकारी गराएका थिए। साथै, सम्पत्ति शुद्धीकरण निवारण प्रणालीलाई प्रभावकारी बनाउन अन्य निकायसँग भइरहेको समन्वय र कारबाहीबारे पनि उनले प्रतिनिधिमण्डललाई अवगत गराएका थिए।
दुई पक्षबीच प्रहरी कर्मचारीको क्षमता अभिवृद्धि, प्राविधिक सहयोग तथा आगामी कार्यदिशाबारे समेत छलफल भएको जनाइएको छ।
भेटमा एपीजीका डेपुटी एक्जुकेटिभ सेक्रेटरी डेभिड श्यानन र पोलिसी अफिसर किया सासल सहभागी थिए। उनीहरूले वित्तीय अपराध नियन्त्रणका लागि सूचना आदान–प्रदान, अन्तरराष्ट्रिय सहकार्य र आपसी समन्वयलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा वित्तीय जानकारी एकाइका प्रमुख तथा पदाधिकारी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव, नेपाल राष्ट्र बैंकका निर्देशक तथा नेपाल प्रहरीका उच्च अधिकृतहरूको पनि सहभागिता रहेको थियो।

