
काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेड को प्राथमिक शेयर (आईपीओ) बुधबार बाँडफाँट गरिएको छ। कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल को कार्यालयमा गोलाप्रथामार्फत शेयर वितरण प्रक्रिया सम्पन्न भएको हो।
कम्पनीले वैशाख १६ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरका १७ लाख ४३ हजार कित्ता साधारण शेयर बिक्री खुला गरेको थियो। यसबाट कम्पनीले १७ करोड ४३ लाख रुपैयाँ बराबरको पूँजी संकलन गरेको छ।
आईपीओमा २९ लाख ८२ हजार ४९८ जनाबाट ३ करोड २४ लाख ७८ हजार २३० कित्ता शेयर खरिदका लागि आवेदन परेको थियो। आवेदन परीक्षणका क्रममा ४४ हजार ४१६ आवेदन रद्द हुँदा २९ लाख ३८ हजार ८२ आवेदन स्वीकृत भएका छन्।
माग अत्यधिक भएपछि शेयर बाँडफाँट गोलाप्रथाबाट गरिएको हो। सो प्रक्रियाअनुसार १ लाख ७४ हजार ३०० आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। कम्पनीका अनुसार आईपीओको नतिजा केही समयपछि सार्वजनिक गरिनेछ।
