Nepal Purbadhar

युवा इन्जिनियर मिथुन पौडेलको महासचिवमा उम्मेदवारी घोषणा : “इप्पानलाई पहुँच होइन, संस्थागत शक्तिमा बदल्छु”


काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को आगामी निर्वाचनका लागि युवा इन्जिनियर तथा ऊर्जा उद्यमी मिथुन पौडेल ले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

इप्पानको आगामी जेठ २९ गते हुने निर्वाचनलाई लक्षित गर्दै पौडेलले सरकारको “स्पिड र स्प्रिट” सँग तालमेल मिलाउने नेतृत्व आवश्यक रहेको दाबी गर्दै आफू एकमात्र प्राविधिक पृष्ठभूमिको उम्मेदवार भएको बताएका हुन् ।

ऊर्जा क्षेत्रका अधिकांश नीतिगत तथा नियामक निकायको नेतृत्व इन्जिनियरिङ पृष्ठभूमिका व्यक्तिले गरिरहेको अवस्थामा निजी क्षेत्रको छाता संस्था इप्पानमा पनि प्राविधिक दक्षता भएको नेतृत्व आवश्यक रहेको उनको भनाइ छ । उनले प्रधानमन्त्रीदेखि विभिन्न मन्त्रालयको नेतृत्वसम्म इन्जिनियरहरूको उपस्थिति बढिरहेको वर्तमान अवस्थामा ऊर्जा उद्यमीको नेतृत्व पनि प्राविधिक ज्ञान र नीतिगत समझ भएको व्यक्तिले गर्नुपर्ने धारणा राखेका छन् ।

करिब १७ वर्षदेखि ऊर्जा तथा पूर्वाधार क्षेत्रमा सक्रिय पौडेलले इन्जिनियरिङ दक्षता, नीतिगत स्पष्टता र संस्थागत नेतृत्वको संयोजनमार्फत ऊर्जा क्षेत्रका समस्या समाधान गर्न सकिने बताएका छन् ।

पूर्वाधार र ऊर्जा क्षेत्रमा विज्ञता

स्याङ्जामा जन्मिएका पौडेलले धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसबाट सिभिल इन्जिनियरिङमा प्रथम श्रेणीसहित स्नातक तथा पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट पूर्वाधार योजना तथा निर्माण व्यवस्थापन विषयमा विशिष्ट श्रेणीमा स्नातकोत्तर गरेका छन् ।

उनले ‘काठमाडौं–तराई लिंकेज’ सम्बन्धी पूर्वाधार लगानी निर्णयमा आधारित शोधमार्फत पूर्वाधार विकास र रणनीतिक योजना क्षेत्रमा अध्ययनसमेत गरेका छन् ।

२०६६ सालमा गुल्मीको ५ मेगावाट रुरु जलविद्युत् आयोजनाबाट ऊर्जा क्षेत्रमा प्रवेश गरेका पौडेलले विभिन्न जलविद्युत् आयोजनामा साइट इन्जिनियर, आवासीय इन्जिनियर, डिजाइन इन्जिनियर र व्यवस्थापकीय भूमिकामा काम गरेका छन् ।

उनले ९९० किलोवाटको सेलाङ खोला जलविद्युत् आयोजनाको व्यवस्थापन तथा नेतृत्व सम्हाल्नुका साथै हाल ३.५ मेगावाट क्षमताको देबढुंगा जलविद्युत् आयोजना अघि बढाइरहेका छन् ।

त्यस्तै, जेन्युइन कन्सल्टेन्ट्स प्रालिमार्फत देशभरका जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन, डिजाइन, निर्माण अनुगमन, वित्तीय सहजीकरण र ‘ड्यु डिलिजेन्स’ लगायतका काममा नेतृत्व गरिरहेको उनले बताएका छन् ।

इप्पान पुनर्संरचना र संस्थागत सुधार प्राथमिकतामा

हाल इप्पान कार्यसमिति सदस्यसमेत रहेका पौडेलले संस्थालाई अझ व्यवस्थित, अनुसन्धानमुखी र प्रभावकारी बनाउने योजना अघि सारेका छन् ।

उनले इप्पान सचिवालयलाई विभागीय संरचनामा लैजानुपर्ने, निर्माणाधीन तथा सञ्चालनमा रहेका आयोजना, विद्युत् प्राधिकरण, विद्युत् विकास विभाग, वन, वातावरण, कर प्रणाली तथा कानुनी विषय हेर्ने छुट्टाछुट्टै डेस्क स्थापना गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

उनका अनुसार इप्पानलाई व्यक्तिगत पहुँचमा आधारित संस्थाभन्दा तथ्य, अनुसन्धान र प्राथमिकतामा आधारित संस्थागत संरचनामा रूपान्तरण गर्न आवश्यक छ ।

“ऊर्जा उत्पादकका पीडालाई प्रेरणामा र संघर्षलाई सम्भावनामा बदल्ने नेतृत्व आवश्यक छ,” पौडेलले भनेका छन् ।

ऊर्जा क्षेत्रलाई अर्थतन्त्रको ‘ड्राइभिङ सेक्टर’ बनाउने योजना

पौडेलले नेपालको ऊर्जा क्षेत्रलाई केवल विद्युत् उत्पादनमा सीमित नराखी राष्ट्रिय अर्थतन्त्रको ‘ड्राइभिङ सेक्टर’ का रूपमा विकास गर्नुपर्ने धारणा राखेका छन् ।

उनका अनुसार जलविद्युत्, सौर्य ऊर्जा, हरित हाइड्रोजन, डाटा सेन्टर, पर्यटन, कृषि तथा उद्योगसँग ऊर्जा क्षेत्रलाई जोडेर समग्र आर्थिक विस्तारको आधार निर्माण गर्न सकिन्छ ।

ऊर्जा खपत विस्तारका लागि विद्युतीय सवारी, रोपवे, केबलकार, पोडवे तथा हाइड्रोजन प्रविधिलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

त्यस्तै, ‘रन अफ द रिभर’ आयोजनासँगै जलाशययुक्त, पम्प स्टोरेज, सोलार तथा बायोमास ऊर्जामा निजी क्षेत्रको सहभागिता विस्तार गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् ।

अनुसन्धान र रणनीतिक नेतृत्वमा जोड

ऊर्जा नीति तथा संस्थागत सुधारका लागि इप्पानभित्रै अनुसन्धान तथा तथ्यांक संकलन संयन्त्र आवश्यक रहेको पौडेलको भनाइ छ ।

उनले ऊर्जा क्षेत्रलाई दीर्घकालीन राष्ट्रिय अर्थतन्त्र विकासको आधारका रूपमा स्थापित गर्न अनुसन्धान, रणनीतिक योजना र तथ्यमा आधारित संस्थागत नेतृत्व आवश्यक रहेको बताएका छन् ।

पौडेल हाल नेपाल हाइड्रोपावर एकेडेमी का अध्यक्षसमेत हुन् । उनी नेपाल इन्जिनियर्स एसोसिएसन, नेपाल भ्यालुअर्स एसोसिएसन तथा म्यानेजमेन्ट एसोसिएसन नेपालसँग पनि आबद्ध छन् ।


Read Previous

ठेक्का समयमै नसकाएको आरोपमा दुई निर्माण व्यवसायी पक्राउ

Read Next

पूर्वाधार विकासको नियति र अबको बाटो- अर्जुन कुमार गौतमको लेख

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar