Nepal Purbadhar

मौसम विभागलाई प्रविधिमैत्री बनाइने, सात दिनसम्मको पूर्वानुमान क्षमता विस्तार गरिने


काठमाडौं । मनसुन नजिकिँदै गर्दा मौसमी सूचना प्रवाह र विपद् पूर्वतयारीको अवस्थाबारे जानकारी लिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ बुधबार जल तथा मौसम विज्ञान विभाग पुग्नुभएको छ ।


त्यस क्रममा मन्त्री श्रेष्ठले आजको मौसम अवस्था, विशेष तथा २४ घण्टे पूर्वानुमान, तीनदिने पूर्वानुमान, हवाई मौसम सेवा, विशेष मौसम विश्लेषण तथा बाढी सम्बन्धी पूर्वसूचना प्रणालीबारे विभागका प्राविधिक तथा अधिकारीहरूसँग विस्तृत छलफल गर्नुभएको थियो । साथै चालू आर्थिक वर्षका कार्यक्रमको समीक्षा तथा आगामी आर्थिक वर्षका कार्यक्रमबारे पनि छलफल भएको थियो ।


सो अवसरमा मन्त्री श्रेष्ठले आगामी दिनमा विभागलाई थप प्रविधिमैत्री बनाउँदै हालको तीनदिने पूर्वानुमान क्षमतालाई विस्तार गरी सात दिनसम्मको पूर्वानुमान गर्न सक्ने बनाउनेतर्फ मन्त्रालयले पहल गर्ने बताउनुभयो ।


मनसुन सुरु हुने समय नजिकिँदै गएको उल्लेख गर्दै उहाँले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका लागि सूचना प्रणालीलाई अझ व्यवस्थित, प्रभावकारी र लक्षित समुदायसम्म पुग्ने बनाउन निर्देशनसमेत दिनुभयो ।


उहाँले विभागलाई मौसम अध्ययनको प्रमुख केन्द्रका रूपमा विकास गर्नुपर्ने उल्लेख गर्दै त्यहाँबाट प्राप्त सूचना र तथ्यांक सरकारी निकाय तथा अन्य सेवाप्रदायक संस्थाले प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने बताउनुभयो ।


सीमित स्रोतसाधन र जनशक्तिका बाबजुद निरन्तर रूपमा मौसम पूर्वानुमान तथा पूर्वसूचना प्रवाहमा खटिएका प्राविधिक तथा कर्मचारीहरूको कामप्रति धन्यवाद दिँदै मन्त्री श्रेष्ठले कर्मचारीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याइने पनि जानकारी दिनुभयो ।
कार्यक्रममा जलस्रोत सचिव सरिता दवाडी तथा विभागका महानिर्देशक डा. अर्चना श्रेष्ठ ले विभागका वर्तमान गतिविधि, मौसम पूर्वानुमान प्रणाली तथा बाढी पूर्वसूचनासम्बन्धी कार्यप्रगतिबारे जानकारी गराउनुभएको थियो ।


Read Previous

प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दीर्घायु कुमार श्रेष्ठले पाए

Read Next

लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तर्राष्ट्रिय सांस्कृतिक दूतमा फु छियाङ नियुक्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar