
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले दक्षिण एसिया विभाग (सार्ड) को महानिर्देशकमा सोना श्रेष्ठलाई नियुक्त गरेको छ। उक्त जिम्मेवारीअन्तर्गत उनले बंगलादेश, भूटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकामा एडीबीको रणनीति तथा कार्यक्रमको विकास र कार्यान्वयनको नेतृत्व गर्नेछिन्।
नियुक्तिपछि प्रतिक्रिया दिँदै श्रेष्ठले दक्षिण एसियाको महानिर्देशकमा नियुक्त हुन पाउँदा सम्मानित महसुस भएको बताइन्। उनले क्षेत्रका विकासशील सदस्य राष्ट्रहरूसँग नजिकबाट सहकार्य गर्दै समावेशी र दिगो विकासका लागि एडीबीको संलग्नता अझ सुदृढ बनाउन काम गर्ने बताइन्।
श्रेष्ठ विकास क्षेत्रकी अनुभवी नेतृत्वकर्ता हुन्। उनको व्यावसायिक अनुभव २७ वर्षभन्दा बढी रहेको छ, जसमा २३ वर्ष एडीबीमै काम गरेको अनुभव समावेश छ। यसअघि उनी दक्षिण एसिया विभागकी उपमहानिर्देशकका रूपमा कार्यरत थिइन्। उनले एडीबीको स्वतन्त्र मूल्यांकन विभागकी उपमहानिर्देशक, सहायक सचिव, दक्षिण–पूर्व एसियाका लागि वित्तीय क्षेत्र तथा व्यापार विभागकी निर्देशक तथा इन्डोनेसियाकी उपदेश निर्देशकका रूपमा समेत काम गरिसकेकी छन्। एडीबीभित्र उनले मध्य तथा पश्चिम एसिया, दक्षिण एसिया र दक्षिण–पूर्व एसियामा व्यापक सञ्चालन अनुभव हासिल गरेकी छन्।
नेपालकी नागरिक श्रेष्ठले अमेरिकास्थित क्यालिफोर्निया विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि तथा स्नातकोत्तर उपाधि हासिल गरेकी छन्। उनले म्यासाचुसेट्सस्थित स्मिथ कलेजबाट अर्थशास्त्रमा स्नातक तहको अध्ययन पूरा गरेकी छन्।
एडीबी एसिया तथा प्रशान्त क्षेत्रभर समावेशी, लचिलो र दिगो आर्थिक वृद्धिलाई सहयोग गर्ने प्रमुख बहुपक्षीय विकास बैंक हो। सदस्य राष्ट्र र साझेदारहरूसँग सहकार्य गर्दै जटिल विकास चुनौतीहरूको समाधान खोज्ने, नवीन वित्तीय उपकरण र रणनीतिक साझेदारीमार्फत जीवनस्तर सुधार गर्ने, गुणस्तरीय पूर्वाधार निर्माण गर्ने तथा वातावरण संरक्षणमा सहयोग पुर्याउने काम एडीबीले गर्दै आएको छ। सन् १९६६ मा स्थापना भएको एडीबीका ६९ सदस्य राष्ट्र छन्, जसमध्ये ५० राष्ट्र एसिया–प्रशान्त क्षेत्रका रहेका छन्।
