
Annapurna mountain range .Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library
काठमाडौं । पोखरामा आजदेखि २१ गतेसम्म दैनिक पाँच घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणअन्तर्गत पोखरा ग्रीड महाशाखाको कुँडहर सबस्टेशनमा मर्मत तथा स्तरोन्नति कार्य सुरु भएकाले बिहान ६ बजेदेखि ११ बजेसम्म बिजुली काटिने भएको हो ।
पोखरा वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवका अनुसार कुँडहर सबस्टेशनको १३२ केभी बसबार मर्मत गर्न चार दिनसम्म सबै फिडर बन्द गर्नुपर्ने अवस्था आएको हो । उनका अनुसार यसका लागि प्राधिकरणले ठेक्का प्रक्रिया पूरा गरिसकेको र सोहीअनुसार काम सुरु गरिएको हो ।
कुँडहर ग्रीडबाट आपूर्ति हुने विजयपुरदेखि हरिचोकसम्मका अधिकांश क्षेत्रमा यस अवधिमा विद्युत् सेवा बन्द रहने वितरण केन्द्रले जनाएको छ । मर्मत कार्य निर्धारित समयभन्दा अगाडि सम्पन्न भएमा विद्युत् आपूर्ति समयअगावै पुनः सञ्चालन हुने पनि जानकारी दिइएको छ । बसबार मर्मत सम्पन्न भएपछि नियमित रूपमा विद्युत् आपूर्ति हुने प्राधिकरणको भनाइ छ ।
पोखरा बजार क्षेत्र ताररहित बनाउने तयारी
यसैबीच पोखरा महानगरपालिकाले पोखराको बजार क्षेत्रलाई ताररहित बनाउने योजनामा सहकार्य गर्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई आग्रह गरेको छ । विद्युत् प्राधिकरणले अघि बढाएको २३ किलोमिटर क्षेत्रमा तार भूमिगत गर्ने परियोजनाअन्तर्गत विद्युत्, टेलिफोन तथा इन्टरनेटका तारलाई एकीकृत रूपमा जमिनमुनि व्यवस्थापन गर्ने सम्भावनाबारे महानगरले छलफल थालेको हो ।
महानगरपालिकाले पोलहरूमा अव्यवस्थित रूपमा झुण्डिएका अनावश्यक तार तत्काल हटाउन पनि सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ । नगरप्रमुख धनराज आचार्यले एक महिनाभित्र तार व्यवस्थापन गर्न समय दिइएको र तोकिएको अवधिमा नहटाइए महानगर आफैँले हटाउने चेतावनी दिए ।
उनका अनुसार ताररहित पोखरा अभियानलाई व्यवस्थित रूपमा अघि बढाउन प्राविधिक समिति गठन गरी विद्युत् प्राधिकरणसँग समन्वय गरेर काम गर्ने तयारी गरिएको छ ।
हाल विद्युत् प्राधिकरणले विद्युत् प्रणाली सुदृढीकरण परियोजनाअन्तर्गत पोखरामा तार भूमिगत गर्ने काम तीव्र गतिमा अघि बढाइरहेको छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थलदेखि पृथ्वीचोक, सृजनाचोक, रत्नचोक, राष्ट्र बैंकचोक, शहिदचोक, लेकसाइड, हल्लनचोक हुँदै बुलौदी र जिरो किलोमिटरसम्मका मुख्य क्षेत्रमा यो कार्य भइरहेको छ ।
सहरी सौन्दर्यमा प्रत्यक्ष असर पार्दै आएका अव्यवस्थित तारहरूको व्यवस्थापनका लागि यो उपयुक्त अवसर भएको भन्दै महानगरपालिकाले प्राधिकरणको योजनामा सहकार्य गर्न आग्रह गरेको हो ।
प्राधिकरणका अनुसार २३ किलोमिटर क्षेत्रमा तार भूमिगत गर्ने परियोजनाको करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको छ । पोखराका मुख्य सहरी तथा पर्यटकीय क्षेत्रमा जमिनमुनि तार बिछ्याउने कामसँगै घरघरमा विद्युत् पुर्याउने कार्य पनि अघि बढाइएको छ ।
सडकमा न्यून क्षति पुग्ने ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधि प्रयोग गरेर तार भूमिगत गरिएको प्राधिकरणले जनाएको छ । यसबाट अव्यवस्थित तार र पोलबाट पोखराले मुक्ति पाउनुका साथै सहरी सौन्दर्य थप बढ्ने अपेक्षा गरिएको छ ।
