Nepal Purbadhar

प्राधिकरणले निजगढदेखि पोखरियासम्म ४०० केभीको प्रसारणलाइन बनाउँदै


काठमाडौं । मधेश प्रदेशअन्तर्गत रौतहट जिल्लाको गुजरा नगरपालिकादेखि पर्सा जिल्लाको पोखरिया नगरपालिकासम्मको निजगढ-पोखरिया ४०० केभीको प्रसारण लाइन बन्ने भएको छ । 

विद्युत विकास विभागले उक्त प्रसारण लाइन निर्माणका लागि नेपाल विद्युत प्राधिकरणले अनुमति लिएको बताएको छ । 

यो प्रसारण लाइन रौतहट जिल्लाको गुजरा नगरपालिका वडा नं. २ र ३ मा प्रस्तावित निजगढ सवस्टेसनदेखि गुजरा नगरपालिका, फतुवा विजयपुर नगरपालिका भई बारा जिल्लाको कोल्बी नगरपालिका, करैयामाई गाउँपालिका, कलैया उपमहानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका हुँदै जितपुर सिमरा उपमहानगरपालिका वडा न. ८ मा प्रस्तावित रमौली सवस्टेसन, पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका, पर्सागढी नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, जगरनाथपुर गाउँपालिका हुँदै पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नं. १ मा पोखरिया सवस्टेसनसम्म निर्माण गर्न लागिएको हो ।

प्रसारण लाइनको जम्मा दुरी ६४.६०४ कि.मी. रहेको छ ।

यस प्रसारण लाईनको भोल्टेज ४,००,००० भोल्ट, डबल सर्किट रहने र २००० मेगावाटसम्मको विद्युत शक्ति प्रसारण गर्न सकिने प्राधिकरणले जनाएको छ । 

प्रसारण लाइनअन्तर्गत जसमा १८५ वटा टावरहरू निर्माण गरिने छन् । टावरको अधिकतम उचाई ५९.४३ मी. सम्म रहने तथा टावरहरू बिचको दुरी १५५.३१८-५६१.५२ मी. हुनेछ ।

प्रसारण लाईनको निर्माण कार्य करिव ४ वर्ष भित्र सम्पन्न गरिने लक्ष्य राखिएको छ । 


Read Previous

ओखलढुङ्गामा ६ मेगावाटको तल्लो लिखु क्यास्केड जलविद्युत आयोजना बन्दै, तीन वर्षभित्रमा उत्पादन सुरु गर्ने

Read Next

रोशी किनारमा जोखिमपूर्ण यात्रा