Nepal Purbadhar

१२ वर्षदेखि बन्न सकेन तीनकुने र टेकु पुल

default


काठमाडौं । एकै समयमा निर्माण सुरु भएका काठमाडौंको तीनकुने र टेकु-कालीमाटी पक्की पुल अहिलेसम्म अलपत्र छन् । त्यहीबेला काम थालिएका बिजुलीबजार र डल्लुको पुल सञ्चालनमा आएको लामो समय भइसक्यो तर तीनकुने र टेकु पुलको अवस्था भने दर्दनाक छ । 

२०७१ सालमा पप्पु कन्स्ट्रक्सन प्रालिले काठमाडौंका चार पक्की पुलको ठेक्का पाएको थियो । एउटा प्याकेजमा टेकु र डल्लु पुल अनि अर्को प्याकेजमा तीनकुने र बिजुलीबजार पुल ठेक्का लगाइएको थियो । 

default

पप्पु कन्स्ट्रक्सनले चारवटै पुलको निर्माण २०७४ सालमा सक्ने गरी सम्झौता भएको थियो । म्याद थप्दैथप्दै २०७६ सालमा बिजुलीबजारको पुल सञ्चालनमा आयो । डल्लु पुल २०७८ मा तयार भएर प्राविधिक जाँचपछि कम्पनीले सरकारलाई हस्तान्तरण गर्‍यो र सञ्चालनमा आयो ।

टेकु पुलमा भने निर्माण कम्पनीको बदमासी फेला पर्‍यो । त्यसपछि प्राविधिक समस्या आएको भन्दै सरकारले तयार भएको पुल बन्द गर्‍यो । ठेकेदार कम्पनीले कमसल गुणस्तरको सामग्री प्रयोग गर्दा पुल सवारी चलाउन अयोग्य भएको हो । अहिले पनि यो पुलमा सवारीसाधन चलाउन पाइँदैन ।

अलपत्र पुल सञ्चालन गर्ने कि भत्काउने भन्ने विषय अझै अन्योलमा छ । गत जेठ २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पुलको लोड टेस्ट गरेर सञ्चालन गर्नेतर्फ सरकार लागिरहेको बताएका थिए । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री दाहालले सञ्चालन गर्न योग्य भएको खण्डमा लोड टेस्ट गरेर सञ्चालनमा ल्याउने तयारीमा आफूहरू लागिपरेको बताएका हुन् ।  

default

तीनकुनेको पुल त झन् बन्दै बनेन । २०७१ सालमै ठेक्का लगाइएको यो पुल निर्माणमा ठेकेदारले चरम लापरबाही गरेको प्रमाणित भइसकेको छ । तोकिएभन्दा फरक डिजाइन र कमसल तरिकाले निर्माण सुरु थालेपछि बीचमै सडक विभागले काम रोकिदिएको थियो ।

२०७७ सालमा काम रोकिएकोमा अहिलेसम्म सुचारु भएको छैन । गुणस्तरहीन काम भएपछि ढलान गर्ने अवस्थामा पुगेको पुल सरकारले भत्काएको छ । अहिले पुलको वारिपारि दुईवटा पिलर र बेसमेन्ट मात्र देखिन्छ।

अलपत्र संरचना सवारीसाधन र पैदल यात्रुका लागि जोखिम बनेको छ । पुल बनाउन खनिएको खाल्डोमा मोटरसाइकल खस्दा २०८० असोज १४ गते एक जनाको मृत्यु भएको थियो । 

पप्पुसँगको ठेक्का तोडेर नयाँ प्रक्रिया अघि बढाउन लागेको सरकारी अधिकारीहरुले बताएका छन् । 

टेकु र तीनकुने पुलमा सवारीसाधन सञ्चालन नहुँदा त्यस क्षेत्रमा बिहान र बेलुकी सवारीसाधनको जाम हुने गरेको छ ।


Read Previous

वन वर्ल्ड अपार्टमेन्ट बन्दै,  एक अर्ब ५० करोड लागत

Read Next

जेएमसी ब्रान्डका गाडी बेच्ने सहसिला मोटर्सले ९ महिनामा गर्यो ५१ करोड ८० लाखको व्यापार