
काठमाडौं। प्रतिनिधिसभाका सांसदहरूले भोटेकोशी बाढीमा बेपत्ता भएका नागरिकको खोज तथा उद्धारका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन तथा विस्थापितलाई सुरक्षित स्थानमा दिगो रूपमा पुनःस्थापना गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
सांसदहरूले बाढीमा बेपत्ता भएका नागरिकको खोजीलाई तीव्र बनाउन, घाइतेको उपचार तथा प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन माग गरे। होल्डिङ सेन्टरमा रहेका बाढीपीडितलाई समेत उचित राहत र आवश्यक सुविधा उपलब्ध गराउन उनीहरूले आग्रह गरे।
सांसद विदूषी राणाले रसुवा क्षेत्रमा आएको विपद्लाई हिमालय क्षेत्रमा बढ्दो जोखिमको पूर्वसंकेतका रूपमा लिनुपर्ने बताउँदै हिमनदी तथा उच्च हिमाली क्षेत्रको नियमित अनुगमन गर्न आग्रह गरिन्। उनले अन्तरदेशीय सूचना आदानप्रदान र विपद् अनुकूल पूर्वाधार निर्माणमा जोड दिइन्।
सांसद बिना गुरुङले भोटेकोशी विपद्ले जनधनसँगै नेपालको पर्यटन क्षेत्र र नागरिकको जीविकोपार्जनमा समेत ठूलो क्षति पुर्याएको बताइन्। उनले बाढीपहिरोबाट घरबारविहीन भएका नागरिकलाई तत्काल पुनःस्थापना गर्न तथा पर्यटन व्यवसायीलाई विशेष राहत उपलब्ध गराउन माग गरिन्।
सांसद भरतकुमार स्वाँर र भरतप्रसाद पराजुलीले भोटेकोशी बाढीमा बेपत्ता भएका नागरिकको खोजीलाई थप तीव्र बनाउन माग गरे। उनीहरूले लामो समयसम्म बेपत्ता भएका नागरिकको दाहसंस्कारसम्बन्धी कानुनी व्यवस्था गर्नसमेत सुझाव दिए।
सांसद भीमकुमारी बुढा मगरले बाढीमा फसेका नागरिकको उद्धारमा ढिलाइ हुँदा सम्पर्कविहीन नागरिकका परिवारजनको पीडा थपिएको बताइन्। सांसद मञ्जु भुसालले बेपत्ता नागरिकको खोज, उद्धार र परिवारसँग पुनर्मिलनका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न आग्रह गरिन्।
सांसद मधुकुमार चौलागाईंले बाढीपीडितलाई तत्काल राहत दिन तथा सुरक्षित स्थानमा पुनःस्थापना गर्न सरकारको ध्यानाकर्षण गराए। सांसद मोहनलाल आचार्य र मोहम्मद फिरदोश आलमले पनि बाढीमा बेपत्ता तथा प्रभावित नागरिकको खोजी, उद्धार र पुनःस्थापनालाई प्राथमिकता दिन माग गरे।
सांसद युवराज दुलालले सिन्धुपाल्चोकमा भोटेकोशी बाढीमा बेपत्ता भएका २३९ जनाको खोजी प्रभावकारी बनाउन माग गरे। उनले नदी तटीय बस्तीमा पूर्वचेतावनी प्रणाली जडान गर्न सरकारलाई सुझाव दिए।
सांसद मदनकृष्ण श्रेष्ठले भोटेकोशी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिको उद्धार प्रयासबारे सदनलाई जानकारी गराउन माग गरे।
त्यस्तै, सांसद रमेशकुमार सापकोटाले नेपाललाई सहानुभूति नभई जलवायु न्याय आवश्यक रहेको बताए। सांसद रञ्जु न्यौपानेले भोटेकोशी विपद्को विषयलाई अन्तर्राष्ट्रिय जगत्मा प्रभावकारी रूपमा उठाउँदै जलवायु न्यायको मागलाई जोडदार बनाउनुपर्ने धारणा राखिन्।
बैठकमा अन्य सांसदहरूले पनि भोटेकोशी बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ताको खोजी, घाइतेको उपचार र विस्थापितको सुरक्षित पुनःस्थापनाका लागि सरकारको ध्यानाकर्षण गराएका थिए।
सांसदहरूले विपद्पछिको राहत र उद्धारसँगै प्रभावित क्षेत्रको दीर्घकालीन पुनःस्थापना तथा भविष्यमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी र पूर्वचेतावनी प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।
