
काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट क्षतिग्रस्त विद्युत् संरचनाको मर्मत तथा पुनःस्थापना गरी प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति सुचारु गर्न नेपाल विद्युत् प्राधिकरणले काम तीव्र बनाएको छ।
बाढीका कारण विद्युत् संरचनामा ठूलो क्षति पुगेपछि प्रभावित क्षेत्रमा सेवा नियमित गर्न प्राधिकरणले आवश्यक प्राविधिक जनशक्ति तथा स्रोतसाधन परिचालन गरेको जनाएको छ। विद्युत् आपूर्ति सहज बनाउन वैकल्पिक व्यवस्थासमेत अपनाइएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार बाढीबाट विद्युत् संरचनामा उल्लेख्य क्षति पुगे पनि प्रभावित क्षेत्रमा यथाशीघ्र विद्युत् सेवा नियमित गर्ने उद्देश्यले मर्मत तथा पुनःस्थापनाको कामलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको छ।
उपलब्ध सबै स्रोतसाधन परिचालन गरी विद्युत् आपूर्ति नियमित गर्न प्रयास भइरहेको प्राधिकरणले जनाएको छ।
यसैबीच, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रभावित क्षेत्रमा सौर्य ऊर्जा प्रविधिमार्फत तत्काल विद्युत् सेवा पुर्याउन संयन्त्र परिचालन गरेको जनाएको छ।
मन्त्रालयले विद्युत् आपूर्ति प्रभावित भएका क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोगमार्फत आवश्यक सेवा सञ्चालनमा सहजता ल्याउने तयारी गरेको हो।


