Nepal Purbadhar

भोटेकोशी बाढी विश्वमै विरलै देखिने विपत्ति हो : टनेल विशेषज्ञ डिक्स


काठमाडौं। अन्तर्राष्ट्रिय टनेल तथा भूमिगत संरचना विशेषज्ञ प्रोफेसर आर्नोल्ड डिक्सले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसबाट जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा परेको क्षति विश्वमै अत्यन्तै असामान्य प्रकृतिको विपत्ति भएको बताएका छन्।

भोटेकोशी-त्रिशूली क्षेत्रमा बाढीपछि प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा फसेका तथा सम्पर्कविहीनको खोज तथा उद्धारमा प्राविधिक सहयोग गरिरहेका डिक्सले बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठलाई उद्धार कार्यको पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए।

त्यसपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विपत्तिको प्रकृति र उद्धारमा देखिएका चुनौती असाधारण रहेको बताए।

‘यस किसिमको विपत्ति विश्वमा विरलै भएको मेरो अनुभव छ। सम्भवतः यस्तो घटना पहिलो नै होला,’ उनले भने।

डिक्सका अनुसार बाढीले करिब ७२ किलोमिटर क्षेत्र प्रभावित बनाएको छ। कतिपय स्थानमा हवाई उद्धारबाहेक तत्काल अन्य विकल्प नै नरहेको उनले बताए। अत्यन्तै साँघुरा गल्छी, क्षतिग्रस्त सडक तथा पुल र हेलिकप्टरसमेत अवतरण गर्न नसक्ने भौगोलिक अवस्थाका कारण उद्धार टोलीले ठूलो जोखिम मोलेर काम गरिरहेको उनको भनाइ छ।

‘हेलिकप्टर पनि ल्यान्ड गर्न नसक्ने अवस्थाबाट उद्धार गर्नुपर्ने स्थिति थियो। गल्छीहरू अत्यन्त साँघुरा छन्। उद्धारकर्ताका लागि समेत यो अत्यन्त कठिन भूगोल हो,’ उनले भने।

उनले यस्तो विपत्तिका बेला कसैलाई दोष दिने समय नभएको बताउँदै नेपाली पक्षले उद्धारमा गरेको समन्वयको प्रशंसा गरे। नेपाल सरकार र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उद्धार कार्यमा अत्यन्तै समन्वयकारी भूमिका निर्वाह गरिरहेको उनले बताए।

‘अहिले कसैले कसैलाई दोष दिने अवस्था छैन, त्यो बेला पनि होइन। यस किसिमको विपत्ति आउनुमा मैले नेपालको कुनै दोष देख्दिनँ,’ उनले भने।

भूमिगत संरचनामा जीवित व्यक्ति हुन सक्ने सम्भावना

सतहमा ठूलो विनाश देखिए पनि त्यसकै आधारमा भूमिगत संरचनाभित्र जीवित मानिसको सम्भावना समाप्त भएको निष्कर्षमा पुग्न नहुने डिक्सले बताए।

जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य भूमिगत संरचना अझै बाँकी रहेकाले सम्भावित जीवित व्यक्तिको खोजीलाई निरन्तरता दिनुपर्ने उनको धारणा छ।

उनले नेपालका जलविद्युत् आयोजनाका इन्जिनियरिङ डिजाइन तथा सुरुङ संरचनाको अध्ययन गरिरहेको बताए। विपत्तिपछि सुरुवाती चरणमै उपलब्ध डिजाइन, नक्सा तथा अन्य प्राविधिक विवरण अध्ययन गरेर उद्धारका सम्भावित बाटो पहिचान गर्न थालेको उनले जानकारी दिए।

‘मैले जलविद्युत् आयोजना र सुरुङहरूको इन्जिनियरिङ डिजाइन अध्ययन गरेको छु। विपत्ति आएपछि सुरुमा मैले उपलब्ध डिजाइन र प्राविधिक तथ्यांक हेरेँ,’ उनले भने।

सिल्क्यारा उद्धारको अनुभव

सामान्य अवस्थामा सुरुङभित्र हुने दुर्घटना वा उद्धारका विषय सार्वजनिक चर्चामा कमै आउने भए पनि सन् २०२३ मा भारतको उत्तराखण्डस्थित सिल्क्यारा सुरुङमा ४१ जना कामदारलाई १७ दिनपछि सकुशल उद्धार गरिएको घटनापछि डिक्स अन्तर्राष्ट्रिय रूपमा चर्चामा आएका थिए।

सिल्क्यारा उद्धारमा महत्वपूर्ण प्राविधिक भूमिका निर्वाह गरेका डिक्सले त्यसअघि पनि भूमिगत संरचना तथा टनेल सुरक्षासम्बन्धी क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका थिए।

‘नेपालीहरू एक्लो छैनन्’

नेपालमा भइरहेको उद्धार प्रयासप्रति अन्तर्राष्ट्रिय समुदायको ऐक्यबद्धता रहेको उल्लेख गर्दै डिक्सले विपत्तिका कारण पीडित नेपालीलाई आफूहरू एक्लो नभएको सन्देश दिन चाहेको बताए।

‘मेरो आफ्नै गाउँमा रहेको स्थानीय चर्चमा नेपालका लागि मात्र प्रार्थना सभा भइरहेका छन्। मेरो संस्था इन्टरनेसनल टनेलिङ एसोसिएसनले पनि सम्मान र सहयोग प्रकट गरिरहेको छ। अहिले पूरै विश्वको हृदय तपाईंसँगै दुखेको छ,’ उनले भने।

उनले थपे, ‘तपाईंहरूले केही गलत गर्नुभएको छैन भन्ने कुरा संसारले बुझेको छ। यो प्राकृतिक रूपमा घटेको विपत्ति हो। नेपाली जनतालाई मेरो सन्देश छ, तपाईंहरू एक्लो हुनुहुन्न। हामी यहाँ तपाईंहरूलाई सहयोग गर्न आएका छौँ।’

जलविद्युत्को क्षति राष्ट्रिय क्षतिको विषय

डिक्सले बाढीले जलविद्युत् आयोजनाका संरचनामा पुर्‍याएको क्षति केवल भौतिक पूर्वाधारको क्षति नभएको टिप्पणी गरे।

जलविद्युत् नेपालको राष्ट्रिय विकास, ऊर्जा सुरक्षा र सार्वभौमिकतासँग जोडिएको महत्वपूर्ण आधार भएकाले यस क्षेत्रमा भएको विनाशलाई व्यापक दृष्टिले हेर्नुपर्ने उनको भनाइ छ।

‘यो केवल मानवीय त्रासदी होइन, बौद्धिक र राष्ट्रिय क्षतिको विषय पनि हो। जलविद्युत् नेपालको राष्ट्रिय पहिचान, सार्वभौमिकता र स्वतन्त्रताका लागि धेरै महत्वपूर्ण छ,’ उनले भने।

भविष्यमा यस्ता असाधारण विपत्तिबाट हुने क्षति न्यूनीकरण गर्न उद्धार तथा सुरक्षा प्रणालीलाई आयोजनाको डिजाइनकै चरणदेखि समेट्नुपर्ने आवश्यकता उनले औँल्याए।

‘आयोजनाको डिजाइनलाई दोष दिनु उचित होइन’

डिक्सले हालको विपत्तिका आधारमा जलविद्युत् आयोजनाको डिजाइनलाई दोष दिनु उचित नहुने स्पष्ट पारे।

उनका अनुसार यसअघि विश्वमै नदेखिएको प्रकृतिको घटना भएकाले विगतमा उपलब्ध ज्ञान र जोखिम मूल्यांकनका आधारमा तयार गरिएका डिजाइनलाई अहिलेको घटनाका आधारमा मात्र गलत भन्न मिल्दैन।

‘यदि कसैले यी जलविद्युत् आयोजनाको डिजाइन गलत थियो भन्न चाहन्छ भने त्यो पूर्ण रूपमा गलत निष्कर्ष हो। विश्वको इतिहासमा हामीले यस्तो घटना देखेका थिएनौँ। दुई हप्ताअघिसम्म हामीलाई जे थाहा थियो, त्यसका आधारमा त्यहाँका डिजाइन उपयुक्त थिए। अहिले परिस्थिति बदलिएको छ,’ उनले भने।

पाँच टनसम्मका उपकरण लैजान चुनौती

डिक्सका अनुसार अहिलेको उद्धार अभियान सामान्य सुरुङ उद्धारभन्दा निकै फरक छ। उद्धारका लागि आवश्यक भारी उपकरण र दक्ष जनशक्ति घटनास्थलसम्म पुर्‍याउनु नै ठूलो चुनौती बनेको उनले बताए।

बाढीले सडक र पुलमा ठूलो क्षति पुर्‍याएका कारण उपकरण ढुवानी गर्न नसकिएको र हेलिकप्टरको क्षमताले पनि ठूला मेसिन घटनास्थलसम्म पुर्‍याउन नसकिने अवस्था रहेको उनले बताए।

‘हामीलाई कुन उपकरण चाहिन्छ भन्ने थाहा छ, तर ती उपकरण हेलिकप्टरभित्र अटाउँदैनन्। त्यसैले अहिले सडक बनाउने काम भइरहेको छ। सडक पुगेपछि मात्रै ठूला मेसिन लैजान सकिन्छ,’ उनले भने।

उनका अनुसार केही भारी उपकरणको तौल करिब पाँच टनसम्म छ। तत्काल उपकरण लैजान नसकिएको अवस्थामा अर्को किनारासम्म पहुँच पुर्‍याउन केबल पुल वा रोपवेको विकल्पसमेत खोजिएको उनले जानकारी दिए।

उद्धारमा संलग्न सबै व्यक्ति अत्यन्तै तनावपूर्ण अवस्थामा पनि दिनरात खटिरहेको उनले बताए। आफूले माग गरेका प्राविधिक सहयोग तथा समन्वयका विषयमा नेपाली पक्षबाट सकारात्मक प्रतिक्रिया पाइरहेको उनको भनाइ छ।

डिक्सले वर्तमान अवस्थालाई आफूले यसअघि कहिल्यै नदेखेको विपत्तिका रूपमा वर्णन गरे।

‘मैले पहिले कहिल्यै यस्तो देखेको थिइनँ,’ उनले भने।

उनका अनुसार सडक, पुल, सञ्चार र पहुँचका पूर्वाधार नै ध्वस्त भएको अवस्थामा उद्धारका लागि आवश्यक जनशक्ति, उपकरण र मेसिन घटनास्थलसम्म पुर्‍याउनु आफैंमा ठूलो चुनौती बनेको छ।

‘हजारौँ मानिस काम गर्न तयार भए पनि उनीहरूलाई घटनास्थलसम्म पुर्‍याउन सकिँदैन। त्यहाँ पुगे पनि बस्ने ठाउँ छैन। उपकरण लैजान पनि समस्या छ। त्यसैले यो सामान्य उद्धार अभियान होइन,’ उनले भने।

कठिन भौगोलिक अवस्था, निरन्तर जोखिम र सीमित पहुँचका बाबजुद नेपाली तथा अन्तर्राष्ट्रिय टोलीले गरिरहेको प्रयास महत्वपूर्ण रहेको बताउँदै डिक्सले सम्भावित जीवित व्यक्तिको खोजीलाई अन्तिम सम्भावनासम्म निरन्तरता दिनुपर्नेमा जोड दिए।


Read Previous

भोटेकोशी बाढीअपडेट: १५औँ दिनसम्म ५ हजार १०० बेपत्ता, १ हजार ३६७ शव फेला

Read Next

ग्यासको माग गर्दै सिंहदरबार दक्षिण गेटमा प्रदर्शन- (तस्बीरहरू)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar