
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विपद्का समयमा सत्ता पक्ष र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर राष्ट्रिय एकता र मानवीयताको आधारमा जलवायु न्यायका लागि विश्व समुदायमाझ एकढिक्का भएर उभिनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा समय लिएर बोल्दै लामिछानेले भोटेकोशी विपत्तिमा सबै एकजुट भएको उल्लेख गर्दै विवेक र मानवीयताको उज्यालोमा देशले फेरि भविष्य खोज्ने विश्वास व्यक्त गरे।
सरकारले दिनरात नभनी उद्धार तथा खोजीको काम गरिरहेको बताउँदै उनले प्रियजन गुमाएका नागरिकले राज्यले केही गरेन भनेर गुनासो गर्नु स्वाभाविक भएको बताए।
“गहिरो चोटमा परेको मानिसले भगवान्लाई त सराप्छ भने सरकार, रास्वपा र राज्यप्रति गुनासो र आक्रोश पोख्नु ठूलो कुरा होइन,” उनले भने।
पीडामा रहेका नागरिकप्रति सामाजिक सञ्जालमा अवाञ्छित टिप्पणी गर्ने कार्य सह्य नहुने उनले बताए। रास्वपाका कुनै कार्यकर्ता त्यस्तो गतिविधिमा संलग्न भए कारबाही गरिने उनको भनाइ थियो। कानुनबमोजिम कारबाही गर्न उनले सरकारसँग पनि आग्रह गरे।
लामिछानेले विपद् व्यवस्थापनका विषयमा प्रतिपक्षबाट आउने रचनात्मक सुझावलाई सरकारले आत्मसात् गर्नुपर्ने बताए। उनले विपद्को विषयमा राजनीति नगर्न सबै पक्षलाई आग्रह गरे।
जलवायु संकटका कारण प्रभावित नागरिक जलवायु अन्यायका पीडित भएको उल्लेख गर्दै उनले अहिलेको विपत्तिका कारक ती नागरिक नभएको बताए।
“जलवायु संकटको असमान भारका कारण जीवन गुमाउन विवश भएकालाई श्रद्धाञ्जली दिएर मात्रै पुग्दैन, विश्वसँग न्याय माग्ने साहस बटुल्नुपर्छ,” उनले भने।
लामिछानेले भोटेकोशी विपत्तिमा खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी र उद्धारकर्ताको प्रशंसा गरे। संकटको समयमा मित्रराष्ट्रहरूबाट प्राप्त साथ र सहयोगको पनि उनले प्रशंसा गरे।
उनले विपद्का बेला निजी क्षेत्र, सञ्चार क्षेत्र र गैरआवासीय नेपाली समुदायले गरेको योगदान महत्वपूर्ण रहेको बताए।
