
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत ११४ जनाको हवाई उद्धार गरिएको छ।
नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जनाको उद्धार गरेको छ भने निजी क्षेत्रका विभिन्न हेलिकप्टर कम्पनीले २९ जनाको उद्धार गरेका छन्।
नेपाली सेनाले रसुवाको टिमुरे–धुन्चेबाट ६० जना, टिमुरे–त्रिशूलीबाट १३ जना, मैलुङबाट पाँच जना, बेत्रावतीबाट चार जना तथा त्रिशूलीबाट काठमाडौं तीन जनाको उद्धार गरेको जनाएको छ।
त्यसैगरी, निजी क्षेत्रतर्फ कैलाश हेलिकप्टरले रसुवाबाट पाँच जनालाई काठमाडौंस्थित शिक्षण अस्पताल पुर्याएको छ। सिम्रिक हेलिकप्टरले रसुवाबाट तीन जनाको उद्धार गरेको छ।
अन्नपूर्ण हेलिकप्टरले रसुवाबाट शिक्षण अस्पतालमा चार जना, प्रभु हेलिकप्टरले रसुवाबाट शिक्षण अस्पतालमा पाँच जना र सिम्रिकले रसुवाबाट शिक्षण अस्पतालमा दुई जनाको उद्धार गरेका छन्।
त्यस्तै, फिसटेल हेलिकप्टरले रसुवाबाट शिक्षण अस्पतालमा पाँच जना, एभरेष्ट हेलिकप्टरले दुई जना तथा प्रभु हेलिकप्टरले रसुवाबाट वीर अस्पतालमा दुई जनाको उद्धार गरेको विवरण छ।
बाढी प्रभावित क्षेत्रमा फसेका तथा घाइतेको उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरले हवाई उद्धारलाई निरन्तरता दिएका छन्।

