
काठमाडौं । नेपाल-चीन सीमा क्षेत्रमा चट्टानसहितको हिमपहिरो गएपछि ल्हेन्दे खोलामा गेग्रानसहितको बाढी आएको र त्यही बाढी टिमुरे हुँदै त्रिशूली नदीमा मिसिएको प्रारम्भिक निष्कर्ष राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निकालेको छ।
प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व नेपाल-चीन सीमामा चट्टानसहितको हिमपहिरो गएको देखिएको छ।
स्याटेलाइट तस्बिरको प्रारम्भिक विश्लेषणका आधारमा हिमपहिरोका कारण ल्हेन्दे खोलामा ठूलो मात्रामा गेग्रानसहितको बाढी आएको र टिमुरे हुँदै त्रिशूली नदीमा प्रवेश गरेको देखिएको डा. उप्रेतीले जानकारी दिए।
“स्याटेलाइट तस्बिरको प्रारम्भिक विश्लेषणका आधारमा रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व नेपाल-चीन सीमामा चट्टानसहितको हिमपहिरो गएको देखिन्छ। त्यसकै कारण ल्हेन्दे खोलामा गेग्रानसहितको बाढी आएको र टिमुरे हुँदै त्रिशूली नदीमा प्रवेश गरेको प्रारम्भिक अध्ययनबाट देखिएको छ,” उनले भने।
प्राधिकरणले घटनाको थप अध्ययन तथा विश्लेषण गरिरहेको जनाएको छ।

