Nepal Purbadhar

भोटेकोशी बाढीअपडेट: १५औँ दिनसम्म ५ हजार १०० बेपत्ता, १ हजार ३६७ शव फेला


काठमाडौं। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको १५औँ दिन पनि बेपत्ता नागरिकको खोजी तथा उद्धारकार्य जारी छ। बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत नदीको तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ भने घर, भवन, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य महत्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पुगेको छ।

परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म १३ हजार ६४६ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ सयभन्दा बढी विदेशी नागरिक छन्।

बाढीपछि हालसम्म १ हजार ३६७ जनाको शव फेला परेको छ भने करिब ५ हजार १०० जना अझै बेपत्ता छन्। बेपत्ता हुनेमा ३५ देशका करिब ६ सय विदेशी नागरिक रहेको मन्त्रालयले जनाएको छ। खोज तथा पहिचानको काम जारी रहेकाले यी संख्या निरन्तर अद्यावधिक भइरहेको मन्त्रालयले जनाएको छ।

बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको खोज तथा उद्धार पनि जारी छ। हालसम्म सुरुङबाट तीन जनालाई जीवित उद्धार गरिएको छ। सेप्टेम्बर ४ मा माथिल्लो त्रिशूली-३ए आयोजनाको सुरुङबाट दुई नेपाली नागरिक र सेप्टेम्बर ५ मा माथिल्लो त्रिशूली-१ को सुरुङबाट एक चिनियाँ नागरिकलाई जीवित उद्धार गरिएको थियो।

सुरुङमा अन्तर्राष्ट्रिय टोली परिचालित

नेपालको उद्धार अभियानमा भारत, चीन र दक्षिण कोरियाका सुरुङ उद्धार टोलीले नेपाली सेनासँग समन्वय गरेर काम गरिरहेका छन्। संयुक्त अरब इमिरेट्सको खोज तथा उद्धार टोली, मलेसियाको स्पेसल मलेसियन डिजास्टर असिस्टेन्स एन्ड रेस्क्यु टिम (SMART) तथा अस्ट्रेलियाको डिजास्टर असिस्टेन्स एन्ड रेस्पोन्स टिम (DART) ले पनि उद्धार कार्यमा सहयोग गरिरहेका छन्।

मेलुङ खोला जलविद्युत् आयोजना, माथिल्लो त्रिशूली-१, माथिल्लो त्रिशूली-३ए, माथिल्लो त्रिशूली-३बी, चिलिमे, रसुवागढी र लाङटाङलगायत प्रभावित जलविद्युत् आयोजनामा समानान्तर रूपमा खोज तथा उद्धार भइरहेको छ।

सरकारले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए), नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहित प्रदेश तथा स्थानीय तहका सम्बन्धित निकायलाई खोज, उद्धार र राहतमा परिचालन गरेको छ।

थप उपकरणका लागि अन्तर्राष्ट्रिय सहयोग माग

खोज, उद्धार तथा डीएनए पहिचानको कामलाई थप प्रभावकारी बनाउन सरकारले अन्तर्राष्ट्रिय समुदायसँग थप उपकरण तथा सामग्री माग गरेको छ।

सरकारले उच्च क्षमताका ड्रोन, लाइडार प्रणाली, बेली ब्रिज, महामारी रोकथामका सामग्री, डीएनए परीक्षण किट, पानीमुनि प्रयोग हुने ड्रोन, पोर्टेबल जेनेरेटर, उच्च क्षमताका पम्प, प्रयोगशाला फ्रिज तथा माटो र सुरुङमा उद्धारका लागि प्रयोग हुने विशेष पोसाकलगायत सामग्री माग गरेको छ।

सडक र सञ्चार सम्पर्क पुनःस्थापनाको काम जारी

बाढीबाट प्रभावित क्षेत्रमा सडक, विद्युत् र दूरसञ्चार सेवा पुनःस्थापना तथा राहत सामग्री पुर्‍याउने काम पनि जारी रहेको मन्त्रालयले जनाएको छ।

गल्छी-त्रिशूली सडकखण्डअन्तर्गत देवीघाटमा तादी नदीमाथि एक्रो ब्रिजको १५ ओटा बेमा जडान कार्य सम्पन्न भएको छ भने बाँकी चार ओटा बे जडानको काम तीव्र रूपमा भइरहेको छ।

त्यस्तै, नेपाली सेनाले त्रिशूली बजारलाई धुँगे बुद्ध मन्दिरको तल्लो भागसँग जोड्ने करिब २५० मिटर लामो झोलुंगे पुल निर्माण सुरू गरेको छ। धुँगे र देवीघाट क्षेत्रमा दुई ओटा एक्साभेटर प्रयोग गरी सडक तथा स्थल सफाइको काम भइरहेको छ।

चीनबाट ७३६ नेपाली स्वदेश फर्किए

बाढीबाट प्रभावित भई चीनतर्फ रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउन नेपाल सरकार र चीनस्थित नेपाली नियोगहरूले चिनियाँ पक्षसँग समन्वय गरिरहेका छन्।

मन्त्रालयका अनुसार हिजोसम्म तातोपानी नाका हुँदै ७३६ नेपाली नागरिक नेपाल फर्किएका छन्। आज थप ३२ नेपाली नागरिक सोही नाकाबाट नेपाल फर्कने अपेक्षा गरिएको छ।

शव पहिचानका लागि डीएनए संकलन तीव्र

बाढी प्रभावित क्षेत्रबाट फेला परेका शवको आवश्यक फरेन्सिक प्रक्रिया पूरा गरी अस्थायी रूपमा व्यवस्थापन गरिएको छ। परिवारलाई शव हस्तान्तरण गर्न पहिचानको प्रक्रिया अघि बढाइएको छ।

बेपत्ता व्यक्तिका परिवारका सदस्यलाई नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ। विदेशमा रहेका परिवारले सम्बन्धित देशमै डीएनए प्रोफाइल तयार गरी नेपाल प्रहरीलाई उपलब्ध गराउन सक्ने व्यवस्था गरिएको छ।

भारत, चीन, जापान, सिंगापुर र दक्षिण कोरियाका फरेन्सिक टोलीसमेत नेपाल प्रहरी तथा सम्बन्धित निकायसँग मिलेर डीएनए संकलन, परीक्षण र पहिचानको काममा सहभागी भएका छन्।

विपद् पुनर्निर्माणका लागि क्षति मूल्यांकन

बाढीबाट भएको क्षति र आवश्यकताको प्रारम्भिक मूल्यांकनअन्तर्गत र्‍यापिड ड्यामेज एन्ड निड्स असेसमेन्ट (आरडीएनए) को प्रतिवेदन अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ।

त्यस्तै, विपद्बाट भएको समग्र क्षति र पुनर्निर्माणका लागि आवश्यक लागत निर्धारण गर्न पोस्ट डिजास्टर निड्स असेसमेन्ट (पीडीएनए) पनि एकैसाथ अघि बढाइएको छ।

सरकारले बाढीको खोज, उद्धार तथा राहतका लागि स्वदेश तथा विदेशबाट प्राप्त सहयोग परिचालन गरिरहेको जनाएको छ। भारत, चीन, संयुक्त अरब इमिरेट्स, बेलायत, जापान, अमेरिका, कतार, सिंगापुर, दक्षिण कोरिया, अस्ट्रेलियालगायत विभिन्न मुलुक तथा संयुक्त राष्ट्रसंघ, विश्व बैंक, एसियाली विकास बैंकलगायत अन्तर्राष्ट्रिय संस्थाबाट सहयोग प्राप्त भएको मन्त्रालयले जनाएको छ।


Read Previous

लामिछानेको प्रस्ताव: ‘बाढीपछिको अवस्थासँग लड्न सर्वदलीय संसदीय विशेष समिति गठन गरौँ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar