खोटाङ । जिल्ला अस्पताल खोटाङमा ५० शय्याको पक्की भवन निर्माणको काम ३ महिनादेखि ठप्प छ । २२ करोड ९० लाख ४७ हजार ९२ लगानीमा सुरु भएकाे भवन निर्माणकाे काम गत पुसदेखि राेकिएकाे हाे ।
संघीय सरकारको नीति तथा कार्यक्रमअनुसार ५० शय्यमा स्तरोन्नति गर्नेगरी निर्माणको काम सुरु गरिएको जिल्ला अस्पतालको भवन निर्माणकाे काम अहिले ठप्प रहेकाे अस्पतालका प्रमुख डा रुपेश सङ्ग्रौलाले जानकारी दिए । “म कार्यालय प्रमुखको रुपमा गत पुस ४ गते खोटाङको आएको हुँ । म आउनुभन्दा अगाडिबाटै अस्पताल भवन निर्माणको काम रोकिएको रहेछ । भुक्तानी नभएर हो वा अन्य कुनै कारणले हो । गत पुसदेखि अहिलेसम्म निर्माण सम्बन्धीका सम्पूर्ण काम ठप्प छ”, उनले भने , “ निर्माणाधीन अस्पतालको पक्की भवन समयमा सम्पन्न नहुँदा ट्रस भवनको साँघुरो कोठामार्फत अस्पतालको सम्पूर्ण सेवा प्रवाह गरिरहेका छौँ । यसप्रति सम्बन्धित निकायले बेलैमा ध्यान दिन जरुरी छ ।”
२०४९ बैशाख १ गते स्थापना गरिएको १५ शय्याको अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्न २०७८ असार २४ गते निर्माण कम्पनीले सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गासँग सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले ३० महिनाभित्र सम्पन्न गरेर हस्तान्तरण गर्नेगरी सम्झौता गरिएको अस्पताल भवन निर्माणको म्याद गत पुस २४ गते नै सकिएको हो ।
निर्माणाधीन अस्पताल भवन आयोजना सम्पन्न गर्नका लागि सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाले पुनः १५ महिनाको म्याद थपेको बताइएको छ । लम्बाइ ४० मिटर र चौडाइ २० दशमलव पाँच मिटर भएको चारतले सुविधायुक्त अस्पताल भवन निर्माणको काम अन्तिम चरणमा पुगेपछि रोकिएको हो ।
रोकिएको कामलाई निरन्तरता दिन पटक–पटक फोन गर्दा ठेकेदार कम्पनीका प्रतिनिधि बाबुराम कटवालको मोबाइल नै अफ हुने गरेको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताए ।
“ठेकेदारलाई धेरैचोटी फोन गरिसकेँ । निर्माणस्थलमा खटिएका ठेकेदार कटवालको मोबाइल स्वीचअफ छ । सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाका इन्जिनियरले मङ्गलबार एकजना प्रतिनिधिलाई सम्पर्कमा ल्याएका छन् । सम्पर्कमा आएका ती प्रतिनिधिले अब चाँडै रोकिएको काम पुनः सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका छन्”, उनले भने ।
उनले ठेकेदारले प्राविधिक कारणले भुक्तानी रोकिएका कारण बीचमा काम रोक्नुपरेको जवाफ दिएकाे बताए । “इन्जिनियरसमेत राखेर गरिएको भेटका क्रममा त्यो विषय मिलाइसकेँ समेत भनेका छन् । मैले तोकिएको समयमा गुणस्तरीय काम गर्न निर्देशन दिएको छु । दुई–चार दिनभित्रै काम सुरु गर्छौँ भनेका छन् । हेरौँ, के गर्छ ! त्यसपछि पनि ठेकेदारले काम सुरु नगरेको खण्डमा कानुनी प्रक्रिया अगाडि बढाउँछौँ ,”उनले भने ।
स्थापना भएको २९ वर्षसम्म १५ शय्यामा सञ्चालन हुँदै अस्पतालमा सञ्चालित बिरामी भर्ना कक्ष, सुत्केरी गराउने कक्ष, शल्यक्रिया कक्ष, आकस्मिक कक्षलगायतका सेवा सञ्चालित भवनलाई भत्काएर नयाँ भवन निर्माणको काम थालिएको थियो । स्थापना भएको लामो समयसम्म पुरानो संरचनाका अस्पताल भवनमार्फत स्वास्थ्य सेवा लिँदै आएका जिल्लावासी ढिलै भए पनि सुविधायुक्त पक्की भवनमा ५० शय्याको अस्पतालमा स्तरोन्नति हुने भएपछि हर्षित भएका थिए ।
पुरानो संरचनाका अस्पताल भवन भत्काइएपछि सोही ठाउँको माथिल्लो तलामा ट्रस भवन निर्माण गरेर अस्पतालको नियमित सेवा सञ्चालन गरिएको छ । साँघुरो तथा एउटै ट्रस भवनमा बसेर अस्पतालको सम्पूर्ण काम गर्नुपर्दा समस्या हुने गरेको स्वास्थ्यकर्मीले बताउने गरेका छन् । अस्पतालमा शय्या अभाव हुँदा बिरामीको चाप बढेको समयमा भुइँमा राखेरसमेत उपचार गर्ने गरिएको प्रमुख डा सङ्ग्रौलाले बताए ।
“एक महिनामा १०–१५ जना महिलालाई शल्यक्रियामार्फत प्रसूति गराउँदै आएका छौँ । शल्यक्रिया कक्ष साँधुरो छ । शल्यक्रियाका लागि आवश्यक जनशक्ति अटाउने स्थिति छैन”, उनले भने , “ट्रस भवनमा सञ्चालित अस्पतालमा शय्या अभाव भएकै कारण कतिपय समयमा अस्पताल भर्ना भएका बिरामीलाई नजिकको होटल तथा आफन्तको कोठाबाट धाएर उपचारमा आउन लगाउने गरेका छौँ । यस विषयमा सम्बन्धित पक्षले ध्यान दिन जरुरी छ । ताकि आगामी दिनमा यस्तो समस्या भोग्न नपरोस् ।”
ठेकेदार कम्पनीमार्फत निर्माण गरिएको ट्रस भवनमा सञ्चालित अस्पतालमा चिकित्सकलाई बिरामीको उपचार गर्न आवश्यक औजार तथा स्वास्थ्य सामग्रीसमेत अभाव हुने गरेको छ । अस्पताल भर्ना भएका बिरामीको उपचारमा आवश्यक औजार अभावकै कारण पनि अधिकांश बिरामीलाई बाहिर सिफारिस गर्नुपर्ने बाध्यता रहेको चिकित्सकले बताउँदै आएका छन् ।
निर्माणाधीन भवनको पहिलो तलामा ओपिडी कक्ष, आकस्मिक कक्ष, शल्यक्रिया कक्ष, एक्स–रे कक्ष, फार्मेसी, सेक्युरिटी रुमलगायतका संरचना निर्माण गरिने जनाइएको छ । दोस्रो तलामा प्रसूतिसम्बन्धी सेवा तथा पसूतिसम्बन्धी शल्यक्रिया, तेस्रो तलामा आइसीयू कक्ष, आइसोलेसन कक्ष, क्याविन तथा चौथो तलामा प्रशासन, लेखा, सेमिनार हललगायतका संरचना रहने सम्झौतामा उल्लेख छ ।
१० स्थानीय तह रहेको जिल्लामा दुईवटा प्राथमिक स्वास्थ्य केन्द्र तथा तीनवटा सामुदायिक अस्पताल सञ्चालनमा रहेका छन् । जिल्लामा सञ्चालित सामुदायिक अस्पतालको सेवासमेत भरपर्दो नहुँदा सामान्य किसिमका बिरामीलाई पनि थप उपचारका लागि राजधानी काठमाडौँलगायतका सुविधायुक्त अस्पताल लैजानुपर्ने बाध्यता छ ।