
नागढुंगा सुरूङमार्ग प्रवेशद्वार। तस्बीर: फोटो लाइब्रेरी
काठमाडौं। काठमाडौं र धादिङलाई जोड्ने गरी निर्माण गरिएको नागढुंगा-सिस्ने खोला सुरुङ मार्ग सोमबारदेखि सञ्चालनमा आउँदैछ । करिब २९ अर्ब रुपैयाँ लगानीमा निर्माण भएको यो सुरुङ शिलान्यासको सात वर्षपछि उद्घाटन हुन लागेको हो ।

२०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ निर्माणको शिलान्यास गरेका थिए । प्रारम्भिक सम्झौताअनुसार ४२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, कोभिड-१९ महामारी, मुआब्जा विवादलगायत कारण निर्माणमा ढिलाइ भयो ।

शिलान्यास भएको करिब चार वर्षपछि २०८० साउन २२ गते ‘रेस्क्यु टनेल’को ब्रेक थ्रु गरिएको थियो । तत्कालीन भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वाला, भौतिक पूर्वाधार राज्यमन्त्री नन्दा चपाईं, नेपालका लागि जापानका राजदूत किकुता युताका, जाइका प्रमुखलगायतको उपस्थितिमा ‘रेस्क्यु टनेल’को ब्रेक थ्रु भएको थियो ।

‘रेस्क्यु टनेल’ ब्रेक थ्रु हुँदा मुख्य सुरुङको ८२ प्रतिशत निर्माण सम्पन्न भइसकेको थियो । त्यसबेला मुख्य सुरुङतर्फ ५०६ मिटर खन्न बाँकी थियो । ‘रेस्क्यु टनेल’ ब्रेक थ्रु भएको १० महिनापछि मुख्य सुरुङको पनि ब्रेक थ्रु गरियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८१ असार ३ गते मुख्य सुरुङको ब्रेक थ्रु गरेका थिए ।
मुख्य सुरुङको लम्बाइ २.६८ किलोमिटर छ भने आपतकालीन सुरुङको लम्बाइ २.५५७ किलोमिटर छ ।

जापान सरकारको १६ अर्ब ५० करोड रुपैयाँ र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानीमा निर्माण गर्ने गरी सम्झौता भएको थियो । निर्माणका क्रममा लागत बढेपछि जापानले थप ५ अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध गराएको थियो । आयोजनाको निर्माण ठेक्का जापानको हाज्मा आन्दो कर्पोरेसनले लिएको थियो ।
सुरुङ सोमबारदेखि सञ्चालनमा आए पनि सबै प्रकारका सवारीसाधनले तत्काल प्रवेश पाउने छैनन् । पहिलो दिन आपतकालीन प्रयोजनमा प्रयोग हुने सवारीसाधनलाई सुरुङ प्रयोग गर्न दिइनेछ । त्यसपछि चरणबद्ध रूपमा निजी तथा सार्वजनिक सवारीसाधनले सुरुङ मार्ग प्रयोग गर्न पाउनेछन् ।
पैदलयात्री, दुईपाङ्ग्रे सवारीसाधन तथा पेट्रोल, डिजेललगायत प्रज्वलनशील पदार्थ ढुवानी गर्ने सवारीसाधनलाई सुरुङभित्र प्रवेश गर्न दिइने छैन ।

सुरुङ प्रयोग निःशुल्क भने हुने छैन । काठमाडौं भित्रिँदा र बाहिरिँदा कार तथा भ्यानले क्रमशः ६५ र ६० रुपैयाँ तिर्नुपर्नेछ । मिनीबस तथा टिपरले भित्रिँदा ११५ र बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्नेछ । बस तथा ट्रकले भित्रिँदा २६० र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ । हेभी ट्रकले भित्रिँदा ६०० र बाहिरिँदा २५० रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।

