Nepal Purbadhar

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

मुग्लिन–पोखरा सडक : आँबुखैरेनीमा थप साढे तीन किलोमिटर कालोपत्र


दमौली । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनीमा थप साढे तीन किलोमिटर खण्ड कालोपत्र भएको छ । मुग्लिन–पोखरा सडक विस्तार योजना पूर्वी खण्डले आँबुखैरेनी–३ मा सडक कालोपत्र भएको हो ।

योसहित पूर्वी खण्डमा हालसम्म १२ दशमलव पाँच किलोमिटर एकतर्फी कालोपत्र सकिएको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । गत मङ्सिर २२ गते आँबुखैरेनी–३ गाउँपालिकाचोकबाट पहिले कालोपत्र भइसकेको मार्कीचोकसम्म थप कालोपत्रको काम अगाडि बढाइएको थियो । उनले भने, ‘यसअघि बरादीबाट मार्कीचोकसम्म कालोपत्र भइसकेको खण्डमा गाउँपालिका चोकबाट कालोपत्र जोडिएको छ । अब अर्कोतर्फ कालोपत्रको काम अगाडि बढाउने तयारी गरिएको छ ।’

यसअघि आँबुखैरेनी–१ सत्रसयबाट सुरु गरेर मार्किचोकसम्म तीन दशमलव पाँच र बन्दीपुर गाउँपालिका–१ नाहालबाट छिर्कनेसम्म पाँच दशमलव पाँच किलोमिटर खण्ड एकतर्फी कालोपत्र भइसकेको छ । उनले भने, ‘दुई ठाउँमा एकतर्फीरूपमा १२ दशमलव पाँच किलोमिटर खण्ड कालोपत्र सकिएको छ । केही समयपश्चात अर्कोतर्फ पनि कालोपत्रको काम हुनेछ ।’

पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा हालसम्म ४२ प्रतिशत काम सकिएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्ड ४१ दशमलव पाँच किलोमिटर दूरीको छ ।

आँबुखैरेनीबाट जामुनेसम्मको खण्डमा काम तीव्रगतिमा अगाडि बढेको पाण्डेको भनाइ छ । पूर्वी खण्डमा सडक फराकिलो बनाउने, पक्की पुल तथा कल्भर्ट निर्माणको कामले पनि गति लिएको छ । राजमार्ग विस्तारका लागि पूर्वी खण्डमा घरटहरा हटाउने काम चलिरहेको छ । यो खण्डमा छ सय ३१ घरटहरा भत्काइनेछ । त्यसका लागि २२ करोड ४५ लाख रूपैयाँ मुआब्जा वितरण गरिनेछ ।

पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१ दशमलव ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ ।

पश्चिम खण्डअन्तर्गत जामुनबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ । पश्चिम खण्डको काम भने १२ प्रतिशत मात्रै सकिएको बताइएको छ ।

विसं २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का ६अर्ब २१ करोड ३१ लाख १३ हजार रूपैयाँमा र पश्चिम खण्डको ठेक्का ७ अर्ब ४० करोड ४६ लाख रूपैयाँमा लागेको छ ।

चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५–२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।


Read Previous

कर्णालीकाे सुझाव – पर्यटन, जडीबुटी र कृषि क्षेत्र समेटेर याेजना बनाउनु

Read Next

बेनी नगरपालिकाद्वारा सात गौरवका योजना सञ्चालन

Leave a Reply

Your email address will not be published.