Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

बेनी नगरपालिकाद्वारा सात गौरवका योजना सञ्चालन


बेनी । बेनी नगरपालिकाले सात गौरवका योजनालाई कार्यान्वयन गर्न सुरुआत गरेको छ । साना योजनाबाट उपलब्धि नदेखिने भएपछि नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा पूर्वाधार विकासतर्फ करिब साढे ६ करोड बजेटलाई सात ठूला योजनामा विनियोजन गरेको थियो । बेनी नगरपालिका, गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारसमेतको साझेदारीमा छनोट भएका ठूला योजनाको कार्यान्वयन सुरु भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाभित्र गौरवका योजनाका रूपमा छनोट भएका सबै योजनालाई ठेक्कामार्फत कार्यान्वनय गर्न लागिएको छ । सातवटा योजनामध्ये चारवटा योजना ठेक्का सम्झौता भएर कार्यान्वनयको चरणमा रहेको र तीनवटा ठेक्का सम्झौताको चरणमा रहेको कार्यालयका असिस्टेन्ट सबइन्जिनियर चन्द्रबहादुर थापाले जानकारी दिए ।

ठेक्का सम्झौता भएकामध्ये सिंगा तातोपानीको माथिल्लो बजार कालोपत्र गर्ने योजनाको काम अघि बढेको छ । ३२ लाख ९० हजार रूपैयाँ बजेट विनियोजन भएको यस योजना २५ लाख ६८ हजार रूपैयाँमा श्रमजीवी निर्माण सेवासँग ठेक्का सम्झौता भएको छ । सम्झौताबमोजिम तातोपानी बजारभित्र ढलान र कालोपत्रको काम अघि बढेको निर्माण कम्पनीका सञ्चालक प्रकाश बानियाँले जानकारी दिए ।

नगरपालिकाले सबैभन्दा धेरै प्राथमिकतामा राखेको बेनी–अर्थुङ्गे–तोरीपानी–पात्लेखेत सडकमा २ करोड रूपैयाँ बजेट विनियोजन भएको छ । यसअघि नगरपालिका र प्रदेश सरकारमार्फत सडक ढलान र कालोपत्र गरी स्तरोन्नति गरिएको ठाउँबाट योजनालाई अघि बढाइने भएको छ । श्रमजीवी निर्माण सेवासँग १ करोड ३४ लाख ६७ हजार रूपैयाँमा ठेक्का सम्झौता भएको यस योजनामा करिब एक किलोमिटर सडक कालोपत्र र ढलान गरी स्तरोन्नति गरिने असिस्टेन्ट सबइन्जिनियर थापाले बताए ।

पाँच मिटर फराकिलो बनाइने यस सडकमा नाली र पर्खालसमेत निर्माण हुनेछन् । नगरपालिकाले माहारानीथान–छाप–डाँडाखेत सडकलाई कालोपत्र र ढलान गरी स्तरोन्नति गर्न ठेक्का लगाएको छ । ८३ लाख ५० हजार रूपैयाँ बजेट विनियोजन भएको यस सडकखण्डको करिब चार सय मिटर सडक कालोपत्र र ढलानसहित स्तरोन्नति गर्न श्रमजीवी निर्माण सेवासँग ५९ लाख ५९ हजार रूपैयाँमा ठेक्का सम्झौता भएको छ ।

नगरपालिकाले बेनीबाट वडा नं ५ पुलाचौरको वडा कार्यालयलाई जोड्ने गरी अघिल्ला वर्षहरूमा समेत कालोपत्र र ढलान गरी सडक स्तरोन्नति गर्न सुरु भएको योजनालाई यस वर्षसमेत निरन्तरता दिएको छ । अर्थुङ्गे–पुलाचौर–भूतपानी सडक स्तरोन्नतिका लागि ८० लाख बजेट विनियोजन भएकामा ५९ लाख ५२ हजार रूपैयाँमा ठेक्का सम्झौता भएको छ । बाँसबोट क्षेत्रबाट सडकलाई कालोपत्र, ढलान, नाली र पर्खाल निर्माणलगायतका काम गरेर सडक पक्की बनाइने नगरपालिकाले जनाएको छ ।

यी चारवटै सडक पूर्वाधारका योजनाको जिम्मा पाएको श्रमजीवी निर्माण सेवाले योजनाको सम्झौतालगत्तै कार्यक्षेत्रमा मेसिन, उपकरण र निर्माण सामग्रीको व्यवस्थापन गर्न सुरु गरेको जनाएको छ । ‘तातोपानीमा सडक कालोपत्रको काम भइरहेको छ, अन्य ठाउँमा समेत काम सुरु हुँदैछ, निर्धारित समयमै निर्माणकार्य सम्पन्न गर्नेगरी जनशक्ति र मेसिन उपकरणको व्यवस्थापन गर्नेतर्फ प्रयासरत छु’, निर्माण व्यवसायी बानियाँले भने ।

तातोपानीको कालोपत्र योजना नगरपालिकाले मात्रै सञ्चालन गरेको हो । पुलाचौर र मारानथान–छाप सडकमा गण्डकी प्रदेश सरकारको समपूरक अनुदान, बेनी–पात्लेखेत सडकमा सङ्घीय सरकारको समपूरक अनुदानको बजेटसँग नगरपालिकाले साझेदारी गरेको हो । नगरपालिकाले जामुनाखर्क माविमा बनाउन लागेको नमूना विद्यालय भवनका लागि रु एक करोड बजेट विनियोजन भएको छ भने उक्त योजनबाट चारकोठे भनव निर्माणका लागि ठेक्का सम्झौताको प्रक्रियामा छ ।

नगरपालिकाले यसै वर्ष दुई खानेपानी आयोजनालाई समेत गौरवको योजनाका रूपमा अघि बढाएको छ । बेनी–२ खवरामा खानेपानी विस्तारका लागि ४० लाख रूपैयाँ र वडा नं ५ पुलाचौरको पुलाडाँडा पुरुण्डी खानेपानी योजनाका लागि ९० लाख रूपैयाा बजेट विनियोजन भएको छ । यी दुवै योजना सम्झौताको चरणमा रहेको कार्यालयको पूर्वाधार विकास शाखाले जनाएको छ । योजनाको गुणस्तर कायम गर्न नियमित अनुगमन गरिने र योजनालाई प्रभावकारी बनाउनेतर्फ जोड दिएको नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताए ।

‘नगरपालिकाबाट नियमित अनगुमन गछौँ, हरेक वडमा प्राविधिक जनशक्ति व्यवस्थापन गरेका छौँ, उपभोक्ता र निर्माण व्यवसायीमार्फत कार्यान्वयन हुने सबै योजनाको पटक–पटक अनुगमन गर्छौँ, योजनालाई गुणस्तरीय बनाउने कार्यमा हामी प्रयासरत छाैं ‘, उनले भने । चालु आर्थिक वर्षमा खुलामञ्चको थप पूर्वाधार निर्माणमा नगरपालिकाले २० लाख रूपैयाा बजेट विनियोजन गरेको छ । बेनी नगरप्रमुख सुरत केसीले सदरमुकामबाट वडा कार्यालय र मुख्य बस्ती जोड्ने मूल सडकलाई स्तरीय बनाउने र अधुरा योजनालाई पूर्णता दिनेगरी छनोट भएका ठूला योजनाको कार्यान्वयन सुरु भएको बताए ।

उनले साना योजनालाई उपभोक्ता समिति र ठूला योजनालाई ठेक्कामार्फत कार्यान्वयन गर्ने नगरको नीतिअनुसार नै गौरवका योजनालाई ठेक्कामार्फत अघि बढाइएको छ । नगरपालिकाले १० लाखभन्दा माथिका योजनालाई नगरपालिकाबाट र अन्य योजनालाई वडाबाटै सम्झौता र कार्यान्वयन गर्ने जनाएको छ । नगरपालिकाले पहिलो चौमासिकसम्म चालुतर्फ २४ दशमलव ०५ प्रतिशत र पुँजीगततर्फ ११ दशमलव ७६ प्रतिशत खर्च गरेको छ ।

पहिलो चौमासिकमा वडास्तरमा विभिन्न २४ योजनाको निर्माणकार्य सम्पन्न भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार ९५ योजना सम्झौता भएर कार्यान्वयनको चरणमा छन् भने अझै एक सय १७ योजना सम्झौता हुन बाँकी रहेको छ । वडास्तरीय योजनाको सम्झौता र कार्यान्वयनको काम धमाधम अघि बढेको उनले बताए । रासस


Read Previous

मुग्लिन–पोखरा सडक : आँबुखैरेनीमा थप साढे तीन किलोमिटर कालोपत्र

Read Next

शनिबार काठमाडाैँका विभिन्न स्थानमा बिजुली काटिने

Leave a Reply

Your email address will not be published.