Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024
हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित    लगानी सम्मेलनमा २० परियोजनामा आशयपत्र आह्वान गरिँदै    १५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन सुरु हुँदै    साढे २८ हजार मेगावाट जडित क्षमता पुर्याउन ६१ खर्ब लगानी चाहिने,स्वदेशी पुँजीबाट २० खर्ब जुट्दा, बाँकी कसरी जुटाउने ? बागलुङ-म्याग्दी सडकमा कालोपत्र गर्न सुरु २५ हजारले अवलोकन गरे हिमालयन हाइड्रो एक्स्पो,प्रतिश्पर्धामा उत्कृष्ट हुनेलाई नगद पुरस्कार वितरण ऊर्जा सुरक्षाको लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प, ‘नेपालमा उत्पादन हुने हाइड्रोजन संसारकै सस्तो’ ऊर्जा विकासमा भूराजनीतिक प्रभाव व्यवस्थापन र प्रसारण सञ्जाल विस्तारमा जोड

वसन्तपुरका ३८ सम्पदाको पुनःनिर्माण सकियो


काठमाडौं। भूकम्पले क्षतिग्रस्त बनाएका विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका ३८ वटा सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ। विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त ७५ सम्पदामध्ये ३८ वटाको पुनःनिर्माण सम्पन्न भएको छ भने १४ वटाको पुनःनिर्माण जारी रहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ।

सङ्ख्यात्मक रूपमा पुनः निर्माण सम्पन्न भएका सम्पदा सङ्ख्या कम भन्दै केही निर्माणको काम सकेर हस्तान्तरण हुन बाँकी रहेको अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए।

हाल पुनः निर्माणको काम भइरहेका सम्पदाहरू आगामी डेढ वर्षमा पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको उनको भनाइ छ। दरबार क्षेत्रमा रहेका ९५ सम्पदामध्ये भूकम्पमा ७५ वटा सम्पदामा क्षति पुगेको थियो।

हनुमान ढोकाको दक्षिणतर्फ रहेको ऐतिहासिक नौ तले दरबार र उक्त दरबारसँगै रहेका वसन्तपुर टावर, ललितपुर टावर, कीर्तिपुर टावर र भक्तपुर टावर चीन सरकारले पुनःनिर्माण गरिसकेको छ भने हस्तान्तरण हुन बाँकी छ।

साथै काष्ठमण्डप, नाटेश्वर, पञ्चमुखी हनुमान, तारिणीदेवी मन्दिर, महादेव मन्दिर पहिलो र दोस्रो, लक्ष्मीनारायण मन्दिर, कागेश्वरी मन्दिर नागरा वंशगोपाल, श्वेत भैरव, सिल्यान सत्तल, गद्धी बैठक, ढुकुटी चोक, तलेजु मन्दिर नजिकैको सानो मन्दिर, तलाजु टेराकोटा तोरण, प्रताप मल्लको सालिक, कणेल चोकको पुनः निर्माण पनि सकिएको छ। ऐतिहासिक गद्दी बैठक अमेरिकी सरकारको सहयोगमा पुनःनिर्माण सम्पन्न भइ सर्वसाधारणका लागि खुला गरिएको छ।

हाल पुनःनिर्माण भइरहेका सम्पदाको काम पूरा नभइ अन्य काम सुरु गर्न नमिल्ने र केहीको हकमा स्थानीयले रोकेकाले पुनःनिर्माणको काम अघि बढाउन नसकिएको प्रमुख खनालले जानकारी दिए।

काम सुरु हुन नसेका २३ सम्पदामा मोहनचोक, सुन्दरीचोकसहित यस चोकचित्र रहेका अन्य केही सम्पदा छन्। ‘माजुदेगअघि कामदेव मन्दिर छ, माजुदेगको पुनःनिर्माण सकिएपछि कामदेव मन्दिरको पुनःनिर्माण सुरु हुन्छ,’ उनले भने।

त्यसैगरी आगम्छे घरको पुनःनिर्माण काम सुरु हुन सकेको छैन भने उक्त सम्पदाको काम नसकी मोहन चोक र सुन्दरी चोकको काम अघि बढाउन नसकिने उनको भनाइ छ। उक्त क्षेत्रमा रहेका कालिका मन्दिर र लक्ष्मीनारायण सत्तलको काम स्थानीयको अवरोधका कारण रोकिएको हो।

यस क्षेत्रको सम्पदा पुनःनिर्माण पुरातत्व विभाग, चीन सरकार, जापानी सहयोग नियोग (जाइका), बागमती प्रदेश पूर्वाधार विकास कार्यक्रम, काठमाडौं महानगरपालिका, केही स्थानीय गुठीमार्फत् काम भइरहेको छ।

प्रताप मल्लले विसं १७२९ मा दरबारको मुख्य प्रवेशद्वार नजिकै हनुमानको मूर्ति स्थापना गराएपछि हनुमानढोका दरबार नाम रहन गएको हो। हनुमानढोका दरबारको सबैभन्दा पुरानो भाग विसं १६२० तिर तत्कालीन राजा महेन्द्र मल्लले बनाएको मूलचोकलाई मानिन्छ।

सुन्दरीचोक, नासलचोक, भण्डारखाल बगैँचा, हनुमानको मूर्ति, तलेजु मन्दिर, जगन्नाथ मन्दिर, काल भौरव, काष्ठमण्डपलगायत वरपरका अन्य सम्पदालाई पनि यहाँको महत्वपूर्ण सम्पदा मानिन्छ। यस स्थानमा विभिन्न ११ वटा महत्वपूर्ण चोक छन्।

महत्वपूर्ण सम्पदाका रूपमा रहेको प्रसिद्ध कुमारी घर विसं १८१३ मा कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले निर्माण गरेका हुन्। कुल ४४ रोपनी क्षेत्रफलमा फैलिएको वसन्तपुर दरबार क्षेत्र सन् १९७९ मा विश्व सम्पदा सूचीमा समावेश गरिएको थियो।


Read Previous

जहाज समयमा उडाउनुहोस्, नेपाली समयको बदनाम नगर्नुहोस् : पर्यटनमन्त्री

Read Next

पाकिस्तानमा विद्युत आपूर्ति अवरुद्ध

Leave a Reply

Your email address will not be published.