
काठमाडौं । गणतन्त्र दिवसलाई विशेष रूपमा मनाउन काठमाडौँ महानगरपालिकाले मञ्च सजावट तथा कार्यक्रम व्यवस्थापनको तयारी शुरू गरेको छ ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको अध्यक्षतामा बसेको मञ्च सजावट तथा कार्यक्रम व्यवस्थापन उपसमितिको बैठकले तयारीका लागि कामको जिम्मेवारी बाँडफाँड गरेको छ ।
बैठकले मूल समारोहमा झाँकी प्रदर्शनको व्यवस्थापन सम्पदा तथा पर्यटन विभागले गर्ने निर्णय गरेको छ । कार्यक्रम स्थल वरिपरिको सरसफाइ, प्याराफिट सफाइ तथा शौचालय व्यवस्थापन वातावरण व्यवस्थापन विभागले गर्नेछ ।
त्यसैगरी कुर्सी, फूल, सजावट सामग्री, पिउने पानी तथा विशिष्ट अतिथिका लागि आवश्यक सामग्रीको व्यवस्थापन जिन्सी शाखाले गर्नेछ । हेलिकोप्टरबाट प्रदर्शन गरिने “गणतन्त्र दिवस २०८३” लेखिएको ३४ मिटर लामो व्यानर तथा प्याराफिटका दुवै तर्फ राखिने १७ मिटर लम्बाइका दुई वटा कपडा व्यानर नेपाली सेनालाई उपलब्ध गराइनेछ ।
शाखाले ८ जोडी परेवा, ५०० वटा बेलुन, फूल र बुके तथा मञ्च सजावटको व्यवस्था गर्नेछ । साथै १४ गते बेलुका माइतीघर मण्डलामा हुने दीप प्रज्वलन कार्यक्रमको व्यवस्थापन पनि सोही शाखाले गर्नेछ ।
स्वास्थ्य विभागले प्राथमिक उपचार सेवाको व्यवस्था गर्नेछ भने आकस्मिक उपचारका लागि एम्बुलेन्स तयारी अवस्थामा राखिनेछ । विपद् व्यवस्थापन विभागले कार्यक्रम स्थलमा दमकल तैनाथ राख्नेछ ।




