काठमाडौं । माउन्टेन इनर्जी नेपाल कम्पनीको नवौं वार्षिक साधारणसभा भोलि (शुक्रबार) हुँदैछ । म्याग्दीमा सञ्चालित ४२ मेगावाटको मिस्ट्री खोला तथा नुवाकोटस्थित ५ मेगावाटको तादी खोलाको प्रवर्द्धक कम्पनीको साधारणसभा हुन लागेको हो ।
साधारणसभा बिहान १० बजेबाट भाटभटेनीस्थित आम्रपाली बङ्क्वेटमा हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार साधारणसभामा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने कार्यसूची छ ।
यस्तै, कम्पनीले सम्पूर्ण सेयरधनीका लागि प्रस्ताव गरेको १०.५२ प्रतिशत नगद लाभांश पनि साधारणसभाबाट स्वीकृत गरिने भएको छ । कम्पनीको लेखा परिक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७८/७९ (असार मसान्त २०७९) को वार्षिक वित्तीय विवरणबारे छलफल गरी पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखा परीक्षक नियुक्त गरी पारिश्रमिक तोक्ने समेत कार्यसूची छ ।
साथै, संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समितिको निर्वाचन गर्ने साधारणसभाको कार्यसूचीमा छ । गत मंसिर २९ गते बसेको सञ्चालक समिति बैठकले पुस ८ गते साधारणसभा गर्ने निर्णय गरेको थियो ।
कम्पनीले निर्माण गरेको ४२ मेगावाटको मिस्ट्री खोला र ५ मेगावाटको तादी खोला आयोजना सञ्चालनमा छन् । १२ मेगावाटको मिस्ट्री खोला–२ आयोजना निर्माणमा जाँदैछ । मिस्ट्री खोला-२ लाई मिस्ट्री खोलाको क्यासकेड आयोजनाकोरूपमा निर्माण गरिनेछ ।