रुपन्देही । लुम्बिनी विकास कोषले चाड पर्वकाे अवसर पारेर सञ्चालन गरेकाे ‘धम्म यात्रा’ मा २० हजार बढी यात्रुले विद्युतीय बसमा निशुल्क यात्रा गरेका छन् । गत असाेज १३ गतेदेखि कात्तिक १३ गतेसम्म एक महिनाकाे ‘धम्म यात्रा’ मा यति यात्रुले निशुल्क यात्रा गरेका हुन् ।
दसैँ, तिहार र छठ पर्वकाे अवसरमा सञ्चालन गरिएको विद्युतीय बसकाे यान्त्रिक परीक्षण सफल भएको लुम्बिनी विकास कोषका सदस्य तथा परीक्षण इकाई समितिका संयोजक विश्व पौडेलले जानकारी दिए । उनका अनुसार एसियाली विकास बैंकले लुम्बिनीलाई प्रदूषणमुक्त बनाउनका लागि ५ वटा विद्युतीय बस र १४ वटा भ्यान कोषलाई उपलब्ध गराएकोमा सबैकाे यान्त्रिक परीक्षण सफल भएकाे हाे ।
पाैडेलले गत असोज १३ देखि कात्तिक १३ गतेसम्म बौद्ध परिपथका क्षेत्रबाट २० हजार २ सय ३६ यात्रुले निःशुल्क धम्म यात्रामा बिजुली बसको सेवा लिएका छन् । ६ रुटमा ५ वटा बसमार्फत ५ सय २७ पटक बस सञ्चालन हुँदा १६ हजार तीन सय ८४ किलोमिटर यात्रा तय भएकाे कोषले जनाएको छ ।
यान्त्रिक परीक्षण इकाई समितिका अनुसार लुम्बिनी-बेलहिया रुटमा सबैभन्दा बढी १ सय ६० पटक बस चल्दा ५ हजार ७ सय ८३ यात्रुले निःशुल्क बिजुली बसको सेवा लिएका छन् । लुम्बिनी-तिलौराकोट रुटमा १ सय ३१ पटक बस चल्दा ५ हजार ७२, लुम्बिनी-रामग्राम रुटमा ४८ पटक बस चल्दा २ हजार २ सय ७० जना तथा लुम्बिनी-बुटवलमा ४६ पटक बस चल्दा १ हजार ३ सय ४६ यात्रुले सेवा लिएको पौडेलले बताए ।
विद्युतीय बसको यान्त्रिक अवस्था, चार्जिङ जस्ता प्राविधिक पक्षको परीक्षण गर्दा सफल देखिएको कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताए । उनले आवश्यक प्रक्रिया पूरा गरेर कोषले बसलाई व्यावसायिकरूपमा सञ्चालनका लागि तयारी गरेको बताए । धम्म यात्रा सञ्चालनका लागि जिल्ला प्रशासन कार्यलय रुपन्देहीको संयोजनमा नेपाली सेना, नेपाल प्रहरी र ससस्त्र प्रहरीले चालक र सहयोगी उपलब्ध गराएको थियो ।