Nepal Purbadhar

बिहिबार, अशोज ४, २०८०
Thursday, September 21, 2023

बिहिबार, अशोज ४, २०८०
Thursday, September 21, 2023

बंगलादेश सुनकोशी मात्र होइन, जलाशययुक्त खिम्ती शिवालय आयोजना पनि निर्माण गर्न आतुर


काठमाडौं । ऊर्जा संकट झेलिरहेको छिमेकी राष्ट्र बंगलादेश नेपालमा जलविद्युत आयोजना निर्माण गर्न र विद्युत लैजान आतुर देखिएको छ ।

बंगलादेशको ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहम्मद हबिबुर रहमानले नेपालमा ६८३ मेगावाटको सुनकोशी तेस्रो जलविद्युत आयोजना निर्माण गर्न ‘प्रतिवद्ध र गम्भिर’ रहेको बताए । यसको साथसाथै जलाशययुक्त खिम्ती शिवालय जलविद्युत आयोजनालाई पनि निर्माण गर्न चाहेको उनको भनाइ छ ।

मंगलबार रामेछापको सुनापति गाउँपालिकाको लुभुघाटमा आयोजित स्वागत कार्यक्रममा उनले नेपालसँगको सहकार्यमा जलविद्युत आयोजना निर्माणलाई अघि बढाउन बंगलादेश इच्छुक रहेको उल्लेख गरे । साथै स्थानीय सहयोग पाउने आशा व्यक्त गरे ।

‘६८३ मेगावाटको सुनकोशी तेस्रो मात्र होइन, जलाशययुक्त १ हजार ७२० मेगावाटको खिम्ती शिवालय आयोजनालाई समेत बंगलादेश सरकार अघि बढाउन चाहान्छ’ सचिव रहमानले भने । यसबाहेक अन्य आयोजनालाई निर्माण गर्नको लागि बंगलादेशको निजी क्षेत्रले चाहिरहेको उनको भनाइ छ ।

नेपाल बंगलादेश जलस्रोत सचिव स्तरीय बैठकमा भाग लिन नेपाल आएका उनी स्थलगत अवलोकनको लागि सुनकोशी तेस्रो जलविद्युत आयोजनास्थलमा पुगेका हुन् । उनीसहित १५ जनाको बंगलादेशी टोली अहिले स्थलगत अवलोकनको लागि सुनकोशी तेस्रो जलविद्युत आयोजनास्थलमा पुगेको हो ।

बंगलादेशी टोलीसँगै नेपाली टोली पनि आयाजनास्थल पुगेको छ । नेपाली टोलीमा ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयका सहसचिव मधु भेटुवाल, विद्युत विकास विभागका महानिर्देशक सन्दिव देव, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतका पदाधिकारी रहेका छन् ।

सुनापति गाउँपालिकामा आयोजित स्वागत कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयका सहसचिव मधु भेटुवाल बंगलादेशसँग विद्युत व्यापार र सहकार्यको लागि अघि बढ्न खोजिरहेको बताए । ‘यही विषयमा बुधबार र विहीबार छलफल हुने कार्यक्रम छ’ उनले भने । कार्यक्रममा विद्युत विकास विभागका अधिकारीहरुले आयोजनाबारे प्रस्तुती दिएका थिए ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुनकोशी आयोजना देश र स्थानीयको लागि नै मुहार फेर्ने महत्वपूर्ण आयोजना भएको बताए । त्यसको लागि सबै लागिरहेको र बंगलादेशले यो आयोजना निर्माण गर्ने विश्वास व्यक्त गरे ।

रामेछापका संघीय सासंद श्याम श्रेष्ठले रामेछाप, काभ्रे, सिन्धुलीका जनता यो आयोजनालाई अघि बढाउनको लागि तयार रहेको बताए । कार्यक्रममा सुनापति गाउँपालिकाका अध्यक्ष ठूलाेकान्छा तामाङलगायत स्थानीय राजनीतिक नेतृत्वले पनि आफ्नो भनाइ राखेका थिए ।


Read Previous

सुनकाेशी किनारमा बंगलादेशी टाेलीकाे भव्य स्वागत (फाेटाेफिचर)

Read Next

‘एक महिनाभित्र जिएमआरसँग माथिल्लो कर्णालीको पिपिएमा हस्ताक्षर गर्दैछौं’

Leave a Reply

Your email address will not be published.