Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

‘एक महिनाभित्र जिएमआरसँग माथिल्लो कर्णालीको पिपिएमा हस्ताक्षर गर्दैछौं’


बंगालादेशको ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव हबिबुर रहमान बुधबार र बिहीबार राजधानीमा हुन लागेको नेपाल–बंगलादेश ऊर्जा सहकार्यका लागि गठित सचिवस्तरीय संयुक्त सञ्चालक समिति (जेएससी) को चौंथो बैठकमा सहभागी हुन बंगलादेशी टोलीको नेतृत्व गर्दै नेपाल आएका छन् । नेपाल आएको अवसरमा मंंगलबार रहमानसहितको टोलीले बंगलादेशको लगानीमा निर्माण हुने सुनकोसी–३ जलविद्युत आयोजनाको स्थलगत भ्रमण गरेको छ । आयोजनाको स्थलगत भ्रमणका क्रममा नेपाल–बंगलादेशबीचको ऊर्जा व्यापार तथा नेपालको जलविद्युत क्षेत्रमा बंगलादेशले गर्ने लगानीका सम्बन्धमा नेपाल पूर्वाधार डटकमका सम्पादक भीम गौतमसँग गरेको कुराकानीको संक्षिप्त सार:

यहाँको नेतृत्वमा नेपाल आएको टोलीले सुनकोसी–३ जलविद्युत आयोजनाको स्थलगत भ्रमण गरेको छ । आयोजना स्थल हेरिसकेपछिको धारणा के छ ?

यो आयोजना बंगलादेशको वित्तीय लगानीमा निर्माण हुने तय भइसकेकाले अहिलेसम्म भएको प्रगति देखेर म निकै उत्साहित भएको छु । हाम्रो लगानीमा एउटा महत्त्वपूर्ण जलविद्युत आयोजना निर्माण हुन गइरहेकोमा यो सफल हुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु ।

सुनकोसी–३ को स्थलगत भ्रमणका क्रममा आफ्नो सम्बोधनमा बंगलादेशले खिम्ती शिवालय जलविद्युत आयोजनामा पनि लगानी गर्न लागेको कुरा बताउनुभयो । आगामी दिनमा नेपालको जलविद्युतमा बंगलादेशले गर्ने लगानीबारे बताइदिनुहोस् न ?

सुनकोसी–३ सँगै नेपालमा अन्य जलविद्युत आयोजनामा पनि लगानी गर्दै जाने बंगलादेशको योजना छ । सुनकोसी–३ लगानी गर्ने तय भइसकेको पहिलो आयोजना भएकाले पनि यो हाम्रा लागि निकै महत्त्वपूण छ । यो आयोजनालाई हामीले ‘पाइलट प्रोजेक्ट’ मानेका छौं । त्यसकारण, यो पहिलो आयोजना हामी इमानदारपूर्वक निर्माण सम्पन्न गर्छौं । यसपछि दोस्रो आयोजनाकोरूपमा खिम्ती शिवालय जलविद्युत आयोजना निर्माण गर्ने हाम्रो योजना छ । यसपछि पनि हामी नेपालका अन्य धेरै जलविद्युत आयोजनामा लगानीका लागि इच्छुक छौं ।

अबको युग हरित ऊर्जाको हुने हुँदा हामीले हामीले नेपालको जलविद्युतमा लगानीको ठूलो सम्भावना देखेका छौं । सुरुवातमा हामीले सुनकोसी–३ र खिम्ती शिवालयको सफल निर्माण गर्नुपर्नेछ । यी २ आयोजना सम्पन्न गरेपछि हाम्रो ध्यान अवश्य पनि अन्य आयोजनामा लगानीका लागि केन्द्रीत हुनेछ ।

बुधबार तपाई नेपाली पदाधिकारीसँग दुई वटा महत्त्वपूर्ण बैठकमा सहभागी हुँदैहुनुहुन्छ । के सुनकोसी–३ आयोजना बैठकको मुख्य एजेन्डामा छ ?

बैठकको एजेन्डामा सुनकोसी–३ आयोजना उच्च प्राथमिकतामा छ । यो आयोजनाबारे वृहत छलफल हुन्छ ।

नेपाल–बंगलादेशबीचको विद्युत व्यापारको प्रक्रिया कहाँ पुगेको छ ? यसबारे बताइदिनुहोस् न ?

हामी नेपालमा उत्पादन भएको स्वच्छ ऊर्जा खरिद गर्न इच्छुक छौं र यो कुरा हामीले पटक–पटक भन्दै पनि आएका छौं । दुई देशबीच विद्युत व्यापार चाँडै सुरु होस् भन्ने बंगलादेशका चाहाना छ । नेपाल बर्खामा विद्युत निर्यातका लागि समक्ष भइसकेको छ । नेपालले पनि सुख्खा याममा आवश्यक परेको खण्डमा बंगलादेशमा खपत हुन नसकेर बढी भएको विद्युत आयात गर्न सक्छ । यसका लागि नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौता हुन आवश्यक छ । हामीले यस सम्बन्धमा भारतीय पदाधिकारीसँग पनि विभिन्न समयमा भएका द्वपक्षीय बैठकमा यो विषयमा छलफल गरेका छौं ।

जिएमआरले निर्माण गर्ने माथिल्लो कर्णालीको ५ सय मेगावाट विद्युत बंगलादेशले खरिद गर्ने भनिएको छ । यो आयोजनाको प्रवद्र्धक जिएमआरसँग विद्युत खरिद सम्झौता (पिपिए) हस्ताक्षरको प्रगति कहाँ पुगेको छ ?

माथिल्लो कर्णाली आयोजनाको ५ सय मेगावाट विद्युत खरिद हाम्रो प्राथमिकतामा छ । हामी जिएमआरसँग पिपिए गर्न तयार छौं । पिपिएको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । मलाई लाग्छ अबको एक महिनाभित्रमा जिएमआरसँग पिपिएमा हस्ताक्षर हुन्छ । पिपिएको हस्ताक्षर समारोह ढाकामा हुन्छ । पिपिएको हस्ताक्षर कार्यक्रममा नेपाली पदाधिकारीलाई पनि हामी ढाकामा आमन्त्रण गर्नेछौं ।

काठमाडौंमा रहँदा नेपाली पदाधिकारीहरूसँगको भेटमा नेपाल–बंगालादेशबीचको पावर ट्रेड एग्रिमेन्ट (पिटिए) का सम्बन्धमा छलफल हुने कत्तिको सम्भावना छ ?

हामी नेपालसँगको विद्युत व्यापारको प्रक्रियामा निकै अगाडि बढिसकेका छौं । काठमाडौंमा रहँदा नेपालसँग पिटिए गर्ने सम्बन्धमा छलफल अवश्य पनि हुनेछ । नेपालसँग पिटिए गर्न हामी सकारात्मक छौं । अन्तरदेशीय विद्युत व्यापार सहज बनाउन नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौता पनि गर्दैछौं । हामीलाई नेपालको विद्युत बंगलादेशसम्म पुर्याउन उच्च क्षमताको एउटै छुट्टै डेडिकेटेड  प्रसारण लाइन आवश्यक पर्छ । प्रसारण लाइन निर्माण गर्न भारतीय भूमिको प्रयोग हुने हुँदा उसको स्वीकृति चाहिन्छ । यस पटक यी सबै विषयमा हामी सकरात्मक निश्कर्षमा पुग्नेछौं भन्ने कुरामा म आशावादी छु ।


Read Previous

बंगलादेश सुनकोशी मात्र होइन, जलाशययुक्त खिम्ती शिवालय आयोजना पनि निर्माण गर्न आतुर

Read Next

नेपाल र बंगलादेशबीच ऊर्जा सह–सचिवस्तरीय बैठक सुरु

Leave a Reply

Your email address will not be published.