Nepal Purbadhar

बिहिबार, बैशाख ६, २०८१
Thursday, April 18, 2024

बिहिबार, बैशाख ६, २०८१
Thursday, April 18, 2024

‘पनौतीमा निजी क्षेत्रलाई लगानी गर्ने वातावरण निर्माण गर्दैछौं’


नीति तथा कार्यक्रममा धेरै विषय समेट्नुभएको छ, कसरी कार्यान्वयन गदै हुनुहुन्छ ?

नीति तथा कार्यक्रम समसामयिक विषयहरुमा आधारित छ । नजिकको सरकार भन्ने मान्यतासँग सम्बन्धित रहेको छ । यसले शिक्षा, स्वास्थ्य, यातायात, संचार, धर्म संस्कृति, पूर्वाधार विकास, आर्थिक पारदर्शिता, आर्थिक अनुशासन कायम गर्ने जस्ता कुराहरु समेटिएको छ ।

यसको कार्यान्वयन सही तरिकाले हुनु पर्छ । नीति निर्माणको परिणाम यसको कार्यान्वयनमा भर पर्छ । त्यसैले यसको कार्यान्वयमा म एकदम प्रतिवद्ध छु र शुन्य सहनशीलताको नीतिलाई अवलम्वन गर्नेछु ।

नीति तथा कार्यक्रमले पूर्वाधार क्षेत्रको विकासलाई जोड दिएको छ । किन ?

वास्तवमा पूर्वाधार भनेको विकासको लागि पूर्व शर्त हो । अन्यथा अन्य विकासका पाटाहरु पछि पर्छन । त्यसैले शहरी क्षेत्र थोरै र ग्रामीण क्षेत्र अधिकतम भएको पनौती नगरमा पूर्वाधारलाई विशेष प्राथमिकता दिएको हो ।

सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा पनि काम अघि बढाउने उल्लेख गर्नुभएको छ, कसरी अघि बढाउनुहुन्छ ?

वास्तवमा विकासको प्रचलित मोडालिटी पीपीपी नै हो । किनकी एउटै पक्षले मात्र सबै काम गर्न सक्ने अवस्था छैन । त्यसैले सरकार र निजी क्षेत्रलाई साझेदार बनाएर जाने छौं, निजी क्षेत्रमा छरिएर रहेको पूँजीलाई एकत्रित गरेर लगानीमैत्री वातावरण बनाइने छ । पनौतीमा निजी क्षेत्रलाई लगानी गर्ने वातावरण निर्माण गर्दैछौ । यसकारण पनि पूर्वाधारमा वढी ध्यान दिएको हो ।

नदी एवं खानीजन्य स्रोतको अनियन्त्रित दोहनलाई नियमन, नियन्त्रण र व्यवस्थित गरिने र वडा नं. २ र १२ का प्रभावित क्षेत्र सीमांकन गरी खानीजन्य क्षेत्र घोषणा गरिने उल्लेख गर्नुभएको छ, यो कसरी सम्भव छ ?

यस नगरभित्र जति पनि खानी तथा नदीजन्य स्रोतहरु छन् त्यसलाई व्यवस्थित गर्नु आजको आवश्यकता हो । यसलाई कार्यान्वयनमा ल्याउनका लागि अनुगमन गरिने छ र वातावरण संरक्षणलाई ध्यान दिंदै उत्खनन् कार्यलाई पनि सँगसँगै लगिनेछ ।

वडा नं. २ र १२ प्रभावित क्षेत्र किन पनि हो भने यस नगरभित्रका खानीजन्य क्षेत्र त्यहीं छ । जसको धेरै त्याग छ त्यही क्षेत्रमा लगानी पनि बढाउने गरी विशेष योजना स्वरुप प्रभावित क्षेत्र घोषणा गरिएको हो । नगरको आम्दानीको ढुकुटी भनेर मानिने ती दुई वडाहरुलाई विशेष लगानी गरिनेछ ।

पर्यटकीय क्षेत्रलाई पकेट क्षेत्रका रुपमा विकास गर्न संचालन हुने तारे होटल/रिसोर्ट जिपलाइन बञ्जी जम्प लगायत प्रर्वद्धनका लागि पहुँच मार्ग, खानेपानी, विद्युत, लगायत पूर्वाधारको विकास गरिने भन्नुभएको छ, यो कसरी गर्दै हुनुहुन्छ ?

अघि नै भनि सकें की पूर्वाधारको विकासले अरु विकासलाई सहयोग गर्ने हुँदा यातायात, संचार, खानेपानी, विद्युतीकरण आदिको विकासमा हाम्रो अभियान रहनेछ । जसको कारणले गर्दा लगानीकर्ता आकर्षित हुनेछन् । कृषि पर्यटक, धार्मिक पर्यटक, अन्य पर्यटकहरुलाई आकर्षण गर्न कार्यक्रम ल्याइएको छ । कृषि क्षेत्रको पहिचान र पकेट क्षेत्र कायम गरी विकासको मूल पाटोको रुपमा अघि बढाउने कार्यक्रममा उल्लेख गरिएको छ ।

ग्रामीण क्षेत्रको यातायातलाई सहज र सर्वसुलभ बनाउनका लागि साना तथा मझौला सवारी संचालनमा प्रोत्साहन गर्ने भनिएको छ । कसरी र कस्ता साना तथा मझौला सवारी सञ्चालन गदै हुनुहुन्छ ?

अहिले कतिपय वस्तीहरुमा यातायातको पहुँच पुगेको छैन भने कतिपय वस्तीहरु सडक सञ्जालमा जोडिन पनि सकिरहेका छैनन् त्यसैले पहिला हामी सडक संजालको विस्तार र स्तरोन्नती गर्नेछौं भने सँगै तीन पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनलाई नगरमा नै दर्ता गराउने र संचालन गर्ने अनुमति प्रदान गर्नेछौं । यसले गर्दा थोरै यात्री हुँदा पनि सवारी चल्ने छ र सवै वस्तीका जनताहरुले सेवा प्राप्त गर्न सक्नेछन् ।

एक घर, एक धारा, नगर चक्रपथको डीपीआर तयार गरेर चालु वर्षदेखि निर्माण सुरु, लड्कु खोलाको विभिन्न स्थानमा साना बाँधहरु निर्माण, प्याराग्लाइडिङ, रक क्लाइम्बिङ् सञ्चालन लगायतका महत्वकांक्षी योजनाहरु अघि सार्नुभएको छ । यसको कार्यान्वयन कसरी सम्भव होला ?

यो महत्वकांक्षी योजना होइन, हामी सवैले मन लगायौं भने सम्भव छ । नगर चक्रपथको रेखांकन गरिनेछ र त्यसको ट्र्याक निर्माण र स्तरोन्नति गरिनेछ । काभ्रे एकिकृत खानेपानी आयोजना संचालन पश्चात एक घर एक धाराको अभियान पूरा हुनेछ, यसका लागि वनेपा र धुलिखेल नगरपालिकासँग सम्वादअघि बढाइ अबिलम्व यस कार्यलाई पूर्णता दिइनेछ, वार्ता शुभारम्भ पनि भइसकेको छ ।

जहाँसम्म अपांगमैत्री फुटपाथको कुरा छ, त्यो हाम्रो दायित्व नै हो । अपांगता भएका व्यक्तिहरु यो नगरका सम्मानित व्यक्तित्वहरु हुन् उनीहरुको लागि अहिलेको संरचना अपर्याप्त छ । त्यसैले हामी वहाँहरु प्रतिको दायित्वलाई कहिले भुल्ने छैनौं । त्यसैगरी प्याराग्लाइडिङ्, रक क्लाइम्बिङ आदिको लागि स्थान पहिचान गरी निजी क्षेत्रको साझेदारीमा कार्यक्रम संचालन हुनेछन् ।

नीति तथा कार्यक्रम अनुसार बजेट विनियोजन भएको देखिदैन, तपाईका महत्वकांक्षी योजनाहरु कसरी सफल होलान ?

कतिपय कार्यक्रम हामी हाम्रो स्रोतबाट गर्नेछौं भने कतिपय निजी क्षेत्र, प्रदेश र संघीय सरकारको सहयोगमा सम्पन्न हुनेछन् ।

अहिले पूर्वाधार मात्र होइन, दिगो र हरित पूर्वाधारको कुरा आईरहेको छ, यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ?

दीगो विकास विश्वव्यापी मान्यता हो । आधुनिकीकरणका नाममा भइरहेका प्राकृतिक सम्पदाको विनाश बढिरहेको छ । कोलाहल, जलवायु परिवर्तन, प्रदुर्षण, भूक्षय, जीवजन्तुको पलायन, जलजन्तुको विनासले हाम्रो सन्ततिको भविष्य अन्धकारमय बनेको छ ।

त्यसैले मानिसलाई मनोरञ्जन प्रदान गर्न, लामो आयु जिउनका लागि हरित पूर्वाधारहरु जस्तै वगैंचा/वाटिका निर्माण, विशेष गरी शहरीकरण हुने स्थानहरुमा हरित पूर्वाधारको अवधारणा अघि सारिनेछ । ढल, पुल, बाटो निर्माणमा दीगो विकासको अवधारणालाई ध्यान दिई जैविक विविधताको संरक्षण गरी पारिस्थितिक प्रणालीलाई बिग्रिन दिइने छैन ।

तपाईको नजरमा पनौती नगरपालिकाको बलियो र कमजोर पक्ष के हुन ? बलियोलाई यथावत राखी कमजोरलाई सुधार्नका लागि तपाईको पहल के हुन्छ ?

पनौतीको वलियो पक्ष भनेको दक्षिणको ढोका, जल जमिन, पानी, प्रचुर मात्रामा रहेको प्राकृतिक सम्पदा, ऐतिहासिक, धार्मिक, सांस्कृति क्षेत्र, उपत्यका र विपी राजमार्ग जोड्ने वैकल्पिक नगरी हो भने कमजोर पक्ष हाम्रो सोचमा आएको विचलन हो । सोच बदल्यौं भने हामी अब्वल नगरीमा रुपान्तरित हुनेछौं ।

पनौती विश्व सम्पदा सूचीमा प्रस्तावित भएको लामो समय भैसक्यो तर सूचीकृत हुन सकेको छैन । यसप्रति तपाईको धारणा के छ ?

यो हाम्रो लागि दुर्भाग्य हो, अहिलेसम्म पनि विश्व सम्पदा सूचीमा सूचीकृत नहुनु । यो नगरसभाले पनि अनुमोदन गरेको छ । त्यहि अनुसार पहल गर्नेछौं ।

पनौतीमा तत्कालीन देखिएका समस्याहरु के के छन् र यसलाई सम्बोधन गर्नका लागि के के गदै हुनुहुन्छ ?

पनौतीमा तत्काल धेरै समस्या रहेका छन् । जस्तै वसपार्कको व्यवस्थापन गर्न नसक्नु, खानेपानी आयोजना सञ्चालनमा नआउनु, क्षेत्रीय रंगशाला अलपत्र पर्नु, यातायातमा सर्वसाधारणको पहुँच नहुनु, शिक्षा, स्वास्थ्यमा गुणस्तरियता नहुनु, वेरोजगारी, पूरानो सोचमा आधारित प्रशासन आदि यसका लागि सवैभन्दा ठूलो समस्या रहेका छन् । विस्तारै समस्याहरु समाधान भएर जान्छन् ।

तपाईले पाँच वर्षे कार्यकाल सकिँदा पनौतीमा के के परिवर्तन देख्न सकिन्छ, पनौतीलाई उत्कृष्ट नगर बनाउनका लागि तपाईका योजनाहरु के के छन् ?

वर्तमान समस्याहरु सवै समाधान भएर जानेछन् । सुन्दर, मनोरम, सभ्य शहर पनौती, संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य, मान्यता अनुरुपको शासन पद्धती, समुन्नत र सजग जनता, इ–गर्भरमेन्ट सिष्टम र अग्रणी नगर देख्न सक्नुहुनेछ ।


Read Previous

काठमाडौ विश्वविद्यालयले मिडियामा विश्वसँग प्रतिष्पर्धा गर्ने जनशक्ति उत्पादन गर्ने

Read Next

इनरुवा सबस्टेसन सञ्चालनपछि कोसी कोरिडोरको तुम्लिङटार-वसन्तपुर-इनरुवा खण्ड पूर्ण क्षमतामा चल्याे

Leave a Reply

Your email address will not be published.