
काठमाडौं । नेपाल विद्युत प्राधिकरण लहान वितरण केन्द्रले विद्युत चुहावट ७ प्रतिशत घटाएको छ । वितरण केन्द्रले गत आर्थिक वर्ष (२०७८÷७९) मा विद्युत चोरी नियन्त्रण अभियानलाई व्यापक बनाई चुहावट घटाएर २५.३९ प्रतिशतमा झारेको हो ।
आर्थिक वर्ष २०७७/७८ मा ३२ प्रतिशत बढी रहेको विद्युत चुहावट ७ प्रतिशत घटाउन सफल भएको वितरण केन्द्र प्रमुख जितेन्द्र यादवले बताए । ‘विद्युत चोरी बढी भएका कारण वितरण केन्द्रको प्रणालीमा चुहावट हुने विद्युत परिमाण पनि धेरै थियो,’ उनले नेपाल पूर्वाधारसँग भने,‘चोरी नियन्त्रण अभियानलाई व्यापाक पारेकाले एक वर्षमा २५.३९ प्रतिशतमा झार्न सफल भएका छौं।’
वितरण केन्द्रले वर्षभरी नै चोरीबाट हुने विद्युत चुहावट नियन्त्रणका लागि प्रहरी प्रशासनसँगको सहकार्यमा अभियान चलाउने गरेको पनि यादवले बताए । उनले गत आर्थिक वर्षमा विद्युत महसुल बुझाउन अटेर गर्ने १ हजार ७९४ जना ग्राहकको लाइन काटी कारबारी गरेको जानकारी दिए । लाइन काटिएका मध्ये १ हजार ३५४ ग्राहकले वितरण केन्द्रलाई ५ करोड २ लाख ६७ हजार रुपैयाँ विद्युत बक्यौता बुझाएका छन् ।
यस्तै, प्रहरीसहितको गस्तीमा जाँदा हुकिङ गरी विद्युत चोरी गरिरहेको अवस्थामा फेला परेका स्थानीयलाई कारबाही गरी १६ लाख ४१ हजार रुपैयाँ बराबरको राजश्व संकलन गरेको यादवले जानकारी दिए । वितरण केन्द्रले हुकिङ गरिएको विद्युत उपयोग भएका ७९ बढी विद्युतीय उपकरण पनि स्थानीयबाट बरामद गरेको छ ।
विद्युतको मिटर बाइपास गरी चोरी गर्ने १५ जना ग्राहक समेत कारबाहीमा परेका छन् । वितरण केन्द्रले उनीहरूबाट २१ लाख १७ हजार रुपैयाँ उठाएको छ ।एकपटक लाइन काटिएर पुनः जोड्ने ग्राहकबाट जरिवाना स्वरूप ९ लाख ८५ हजार रुपैयाँ राजश्व उठेको वितरण केन्द्रले जनाएको छ ।
वितरण केन्द्रका अनुसार गत आर्थिक वर्षमा १ हजार ९ सय ७२ जना नयाँ ग्राहक थपिएका छन् । यससँगै वितरण केन्द्रबाट विद्युत सेवा लिने ग्राहकको संख्या ६५ हजार ३ सय २४ जना पुगेका छन् ।
 
								 नेपाल पूर्वाधार
                        नेपाल पूर्वाधार         
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                    








