
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नेपाल विद्युत् प्राधिकरणको ग्रिड कनेक्सन प्वाइन्ट तथा भोल्टेज लेभल परिवर्तनसम्बन्धी कार्यविधिको मस्यौदामा विद्युत् उत्पादकमाथि एकतर्फी रूपमा जोखिम र आर्थिक भार थपिन सक्ने भन्दै १९ बुँदे संशोधन प्रस्ताव गरेको छ।
इप्पान अध्यक्ष मोहनकुमार डाँगी नेतृत्वको टोलीले प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ र विद्युत् व्यापार विभागका प्रमुख कमल आचार्यलाई बधाई तथा शुभकामना दिएपछि भएको छलफलमा संशोधनको माग अघि सारेको हो।
छलफलमा प्रसारण संरचना निर्माणमा प्राधिकरण वा अन्य सरकारी निकायबाट हुने ढिलाइ, कनेक्सन प्वाइन्ट परिवर्तन, आरसीओडी/सीओडी, ग्रिड इम्प्याक्ट स्टडी, ट्रान्सफर्मर तथा प्रसारण चुहावटलगायतका विषयमा उत्पादक र ग्रिड सञ्चालकबीच जोखिमको न्यायोचित बाँडफाँट हुने गरी व्यवस्था गर्न इप्पानले माग गरेको छ।
इप्पानले कनेक्सन प्वाइन्ट वा भोल्टेज लेभल परिवर्तनका लागि आयोजनाले कम्तीमा ३० प्रतिशत भौतिक प्रगति गरेको हुनुपर्ने प्रस्तावित व्यवस्था हटाउन माग गरेको छ। प्राधिकरणको प्रसारण योजना वा प्रसारण संरचना निर्माणकै कारण कनेक्सन परिवर्तन आवश्यक परेको अवस्थामा उत्पादकलाई पहिले ३० प्रतिशत निर्माण गर्न बाध्य पार्दा अनावश्यक खर्च र आयोजना पुनःडिजाइनको जोखिम बढ्ने इप्पानको तर्क छ।
त्यस्तै, कनेक्सन प्वाइन्ट वा भोल्टेज लेभल एकपटक मात्र परिवर्तन गर्न पाउने व्यवस्था हटाउन पनि इप्पानले माग गरेको छ। प्राकृतिक विपद्, बाढी, पहिरो, भूकम्प वा प्रसारण संरचनामा क्षति पुगेका कारण एउटै आयोजनाको कनेक्सन व्यवस्था एकभन्दा बढी पटक परिवर्तन गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले आवश्यक प्राविधिक कारण प्रमाणित भए पुनः परिवर्तन गर्न सकिने व्यवस्था राख्नुपर्ने उसको भनाइ छ।
प्राधिकरणको जिम्मेवारीमा रहेको प्रसारण संरचना समयमा निर्माण नभए कनेक्सन परिवर्तन गर्न सकिने व्यवस्थामा अन्य सरकारी वा प्रसारण संरचना निर्माण गर्ने निकायको ढिलाइलाई समेत समेट्नुपर्ने इप्पानले जनाएको छ। विशेषगरी राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपीजीसीएल) को जिम्मेवारीमा रहेको सबस्टेसन वा प्रसारण लाइन समयमा निर्माण नभए वैकल्पिक कनेक्सनको स्पष्ट व्यवस्था हुनुपर्ने उसको माग छ।
प्राधिकरण वा ग्रिड सञ्चालकको जिम्मेवारीमा रहेको प्रसारण पूर्वाधार निर्माणमा ढिलाइका कारण आयोजना समयमा ग्रिडमा जोडिन नसके आरसीओडी/सीओडीमा आवश्यक समायोजन गर्नुपर्ने इप्पानले जनाएको छ। त्यस्तो ढिलाइलाई करारगत राहत वा फोर्स मेजरसरह मान्दै क्षतिपूर्ति वा ‘डिम्ड जेनेरेसन’को व्यवस्था गर्नुपर्ने सुझाव पनि दिइएको छ।
जीआईएस/जीसीए प्राथमिकता कायम राख्न माग
प्राधिकरणको प्रसारण योजना वा प्रणालीगत आवश्यकताका कारण कनेक्सन प्वाइन्ट परिवर्तन गर्नुपरेमा आयोजनाको पुरानो जीआईएस/जीसीए प्राथमिकता कायम राख्नुपर्ने इप्पानको माग छ। नयाँ कनेक्सन प्वाइन्टअनुसार प्राथमिकता फेरिँदा प्राधिकरणको निर्णयका कारण परिवर्तन गर्न बाध्य भएको आयोजनाले अनावश्यक रूपमा आफ्नो ‘क्यु पोजिसन’ गुमाउने अवस्था आउने उसको भनाइ छ।
इप्पानले प्रत्येक भोल्टेज रूपान्तरणमा मिटर गरिएको ऊर्जाको १ प्रतिशत ट्रान्सफर्मर लस कट्टा गर्ने व्यवस्था पनि पुनरावलोकन गर्न माग गरेको छ। आधुनिक ट्रान्सफर्मरको वास्तविक प्राविधिक चुहावट निर्माता कम्पनीको ग्यारेन्टी, परीक्षण प्रमाणपत्र र प्रचलित प्राविधिक मापदण्डका आधारमा निर्धारण गर्न सकिने भन्दै सबै ट्रान्सफर्मरमा समान १ प्रतिशत कट्टा गर्नु उपयुक्त नहुने उसको तर्क छ।
साझा प्रसारण प्रणालीमा एउटै आयोजनालाई सम्पूर्ण प्रसारण चुहावटको भार नथोपरी प्रणालीगत लस बाँडफाँटको आधार अपनाउनुपर्ने सुझाव पनि इप्पानले दिएको छ।
सञ्चालनमा रहेका आयोजनाबाट क्यापिटलाइजेसन लागत नलिन माग
ग्रिड योजना वा प्रणालीगत आवश्यकताका कारण सञ्चालनमा रहेका आयोजनाको भोल्टेज लेभल परिवर्तन गर्नुपरेमा प्राधिकरणका विद्यमान ट्रान्सफर्मर, स्विचगियरलगायत ग्रिड सम्पत्तिको क्यापिटलाइजेसन लागत उत्पादकबाट लिन नहुने इप्पानले जनाएको छ। नयाँ कनेक्सन वा विकासकर्ताको आफ्नै आवश्यकताका कारण थप निर्माण गर्नुपर्ने पूर्वाधारको लागत भने छुट्टै निर्धारण गर्न सकिने उसको सुझाव छ।
नयाँ सबस्टेसन वा प्रसारण लाइनमा कनेक्सन परिवर्तन गर्दा साविक कनेक्सन प्वाइन्टबाट निश्चित दूरीभित्र हुनुपर्ने जस्ता कठोर मापदण्ड हटाउनुपर्ने माग पनि इप्पानले गरेको छ। कनेक्सन प्वाइन्ट निर्धारण गर्दा ग्रिड इम्प्याक्ट स्टडी, पावर फ्लो स्टडी, एन-१ विश्लेषण तथा प्रणालीको दीर्घकालीन आवश्यकतालाई आधार बनाउनुपर्ने उसको भनाइ छ।
१०-१५ मेगावाटभन्दा कम क्षमताका साना आयोजनाका लागि प्राविधिक रूपमा सम्भव भए ३३ केभी वा उपयुक्त कम भोल्टेजमार्फत वैकल्पिक कनेक्टिभिटीलाई प्राथमिकता दिनुपर्ने सुझाव पनि दिइएको छ।
पुनः ग्रिड इम्प्याक्ट स्टडीको बाध्यता हटाउन माग
इप्पानले नेपाल विद्युत् ग्रिड संहिता, २०८० मा समेत संशोधन गर्नुपर्ने विषय अघि सारेको छ। डेलिभरी प्वाइन्ट परिवर्तन नभएको अवस्थामा पुनः ग्रिड इम्प्याक्ट स्टडी अनिवार्य गर्न नहुने उसको मुख्य माग छ।
विद्यमान कनेक्सन सुविधामा सामान्य प्रकृतिको परिमार्जन गर्दा त्यसले राष्ट्रिय ग्रिडको कार्यसम्पादनमा उल्लेखनीय असर नपारेसम्म पुनः जीआईएस आवश्यक नहुने व्यवस्था गर्नुपर्ने इप्पानले जनाएको छ। हरेक परिमार्जनमा पुनः जीआईएस गराउँदा आयोजना विकासमा अनावश्यक समय र खर्च थपिने भएकाले ग्रिड कार्यसम्पादनमा वास्तविक प्रभाव पर्ने अवस्थामा मात्र यस्तो अध्ययन अनिवार्य गर्नुपर्ने उसको सुझाव छ।
पीपीए र प्रसारण पूर्वाधारमा सहकार्यको माग
इप्पान अध्यक्ष मोहनकुमार डाँगीले ऊर्जा क्षेत्रको विकासमा नीतिगत सहजताका लागि प्राधिकरणसँग सहकार्य गरेर अघि बढ्न इप्पान तयार रहेको बताए। सरकारको विद्युत् उत्पादन लक्ष्य ठूलो भए पनि वर्षौंदेखि विद्युत् खरिद सम्झौता (पीपीए) रोकिएको भन्दै उनले तत्काल पीपीए खुलाउन माग गरे।
भोटेकोशी बाढीका कारण प्रसारण संरचनामा क्षति पुगेकाले वैकल्पिक प्रसारण लाइनको व्यवस्थापन गरी तत्काल सञ्चालनमा ल्याउन सकिने निजी क्षेत्रका आयोजनाबाट उत्पादन सुरू गर्न आवश्यक सहकार्य गर्न तयार रहेको उनले बताए।
इप्पानका वरिष्ठ उपाध्यक्ष उत्तम ब्लोन लामाले प्राधिकरणलाई भार नपर्ने र निजी क्षेत्रलाई बैंकको लगानीयोग्य हुने गरी पीपीए पुनरावलोकन गर्नुपर्नेमा जोड दिए। निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिइएमा प्राधिकरणमाथिको आर्थिक भारको जोखिम कम हुने र निजी क्षेत्रले आफैँ बजार खोज्न सक्ने उनको भनाइ थियो।
उनले आरसीओडीका ए, बी, सी र डी श्रेणीमा परेका आयोजनाको म्याद अन्तिम पटक थप गर्न पनि प्राधिकरणसमक्ष माग गरे।
इप्पानका उपाध्यक्ष हिम पाठकले वन तथा वातावरण र धितोपत्र बोर्डसँग जोडिएका समस्या निजी क्षेत्र र प्राधिकरणको साझा समस्या भएकाले समाधानका लागि सहकार्य आवश्यक रहेको बताए।
उपाध्यक्ष एवं नेपाल विद्युत् प्राधिकरण समन्वय समितिका संयोजक उत्तरकुमार श्रेष्ठले निजी क्षेत्रका आयोजनाको विद्युत् जोडिने सबस्टेसनसम्बन्धी व्यवस्था सहज नभए प्रसारण प्रणालीमै समस्या आउन सक्ने बताए। प्राधिकरणले तयार गरेको कनेक्सन प्वाइन्टसम्बन्धी मस्यौदामा निजी क्षेत्रका धेरै व्यावहारिक विषय नसमेटिएको भन्दै उनले त्यसतर्फ ध्यान दिन आग्रह गरे।
इप्पान सचिव सुमन जोशीले ऊर्जा उद्यमीलाई राजनीतिक दृष्टिकोणबाट नभई देशको आर्थिक विकासका साझेदारका रूपमा हेर्नुपर्ने बताइन्।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले ग्रिड कनेक्सनसम्बन्धी कार्यविधिमा निजी क्षेत्रबाट आएका सुझाव पुनः अध्ययन गरिने बताए। आवश्यक परे इप्पानका प्रतिनिधिलाई समेत बोलाएर एउटै टेबलमा छलफल गरी समाधान निकाल्ने उनको प्रतिबद्धता थियो।
आरसीओडी थप गर्ने विषयमा वर्गीकरणका आधारमा केही प्रक्रिया अघि बढिसकेको र बाँकी विषयमा पुनः छलफल गरेर निर्णय गर्ने उनले बताए।
श्रेष्ठले १० मेगावाटसम्मका आयोजनाको पीपीए खोल्ने विषयमा प्राधिकरण सञ्चालक समितिमा प्रस्ताव पुगेको जानकारी दिए। कुन क्षेत्रमा, कुन प्रसारण करिडोरका आधारमा वा कुन आयोजनालाई प्राथमिकता दिने भन्ने विषयमा अध्ययन गर्न सञ्चालक समितिले समिति गठन गरेको र त्यसको अध्ययन प्रतिवेदनका आधारमा प्रक्रिया अघि बढाइने उनले बताए।
ग्रिड कनेक्सन एग्रिमेन्टको प्रक्रिया पनि अघि बढिरहेको उनले जानकारी दिए। केही विषयबाहेक अधिकांश प्रक्रिया अगाडि बढिसकेको उल्लेख गर्दै उनले पीपीए दर पुनरावलोकन गर्दा प्राधिकरणलाई पनि दिगो बनाउनुपर्ने बताए। निजी क्षेत्र र प्राधिकरण दुवैको हित हुने गरी ‘विन-विन’ आधारमा पीपीए पुनरावलोकन गर्न सकिने उनको भनाइ थियो।
मातातीर्थ क्षेत्रमा बाढीबाट क्षतिग्रस्त प्रसारण संरचनाको पुनर्निर्माणका लागि प्राधिकरणले काम सुरू गरिसकेको उनले बताए। मातातीर्थबाट चिलिमे हब जोड्ने गरी प्रसारण लाइनको सर्वेक्षण र टावर साइटिङको काम अघि बढेको भन्दै उनले अब वन तथा जग्गा प्राप्तिसम्बन्धी प्रक्रियामा सरकारबाट शीघ्र सहजीकरण आवश्यक रहेको बताए।

