
काठमाडौं । नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी सञ्चालनका लागि चीन सरकार सकारात्मक रहेको पाइएको छ । पूर्वाधार विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत वाङ माओमिङबीच शुक्रबार सिंहदरबारमा भएको भेटवार्तामा राजदूत वाङले तातोपानीसहित कोरला नाका सञ्चालनका लागि चीन सकारात्मक रहेको जानकारी दिएका हुन् ।
भेटमा मन्त्री लम्सालले रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण, रसुवागढी–केरुङ नाका पुनः सञ्चालन, स्थानीय नागरिकको सहज आवतजावत तथा कोरला र तातोपानी नाकाको प्रभावकारी सञ्चालनका लागि चीन सरकारको सहयोग आवश्यक रहेको बताएका थिए ।
भोटेकोशीमा आएको बाढीका कारण रसुवागढी नाका बन्द भएको उल्लेख गर्दै मन्त्री लम्सालले तत्काल पुरानै स्थानबाट अस्थायी सडक तथा यातायात सञ्चालन गरी स्थानीय नागरिकलाई राहत दिने गरी नेपाल सरकारले काम गरिरहेको जानकारी गराएका थिए ।
स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको सडकखण्ड तत्काल सञ्चालनमा ल्याउन चीनको सहयोग आवश्यक रहेको भन्दै उनले त्यसका लागि सहयोग गर्न चिनियाँ पक्षसँग आग्रह गरेका थिए ।
त्यस्तै, काठमाडौं–रसुवागढी–केरुङ सडकको दीर्घकालीन पूर्वाधार विकासका लागि नयाँ विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी आवश्यक स्थानमा ट्रयाक खोल्ने काम अघि बढाइएको मन्त्री लम्सालले जानकारी दिएका थिए । उक्त कार्यमा पनि चीन सरकारको सहयोग र समन्वयका लागि उनले आग्रह गरेका थिए ।
भेटमा चिनियाँ राजदूत वाङले चीन नेपालका असल मित्र तथा छिमेकीका रूपमा नेपाललाई हरसम्भव सहयोग गर्न तयार रहेको बताएका थिए । रसुवागढी नाका नेपालको प्रमुख व्यापारिक केन्द्र भएकाले यसको पुनर्निर्माण तथा सञ्चालनका लागि विशेष अध्ययन गरी दीर्घकालीन र प्रभावकारी पूर्वाधार निर्माण गर्नुपर्ने उनको भनाइ थियो ।
राजदूत वाङले कोरला र तातोपानी नाका सञ्चालनका लागि चीन सरकार सकारात्मक रहेको स्पष्ट पारेका थिए । साथै, रसुवागढी नाकाको पुनर्निर्माण तथा सञ्चालनका सम्बन्धमा नेपाल सरकारले विशेष प्रस्ताव पठाएमा आवश्यक समन्वय र सहयोगका लागि पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका थिए ।
भेटवार्तामा बाढीबाट क्षतिग्रस्त सीमावर्ती पूर्वाधारको पुनर्निर्माणसँगै नेपाल–चीन व्यापारिक सम्पर्कलाई सहज बनाउने विषयमा समेत छलफल भएको थियो।

