Nepal Purbadhar

बाढी-पहिरोको उच्च जोखिममा २५ जिल्ला, भोलि पनि यातायात बन्द


काठमाडौं। लगातार वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरोको जोखिम बढेपछि २५ जिल्लामा भोलि पनि राति र दिउँसो दुवै समयमा सवारीसाधन सञ्चालन पूर्णरुपमा बन्द गर्न सुझाव दिइएको छ।

देशका अधिकांश क्षेत्रमा मौसम बदली भएको छ। बंगालको खाडीमा विकसित न्यूनचापीय क्षेत्रको प्रभावका कारण लगातार वर्षा भइरहेको छ। वर्षासँगै खोलानालामा जलसतह बढ्नुका साथै ठाउँठाउँमा पहिरो खसेर सडक अवरुद्ध भइरहेका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षासँगै बाढी र पहिरोको जोखिमको अवस्थाका आधारमा ७७ जिल्लालाई तीन समूहमा वर्गीकरण गरेको छ। प्राधिकरणले जिल्लाहरूलाई रातो, सुन्तला र पहेँलो रङका आधारमा जोखिम वर्गीकरण गरेको हो।

जसअनुसार २५ जिल्ला रातो रङमा अर्थात् उच्च जोखिममा रहेका छन्। ती जिल्लामा बाढी र पहिरोको जोखिम उच्च रहेकाले राति र दिउँसो दुवै समयमा सवारीसाधन पूर्णरुपमा बन्द गर्न प्राधिकरणले सुझाव दिएको छ।

त्यस्तै, सुन्तला रङले संकेत गरिएका २९ जिल्लामा रातिको समयमा सवारीसाधन सञ्चालन बन्द गर्न सुझाव दिइएको छ। दिउँसोको समयमा भने स्थानीय अवस्थाको मूल्यांकन गरी जिल्ला मनसुन प्रतिकार्य कमाण्ड पोस्टले आवश्यक निर्णय लिनुपर्ने भनिएको छ।

पहेँलो रङले संकेत गरिएका २३ जिल्लामा भने सतर्कता अपनाउन भनिएको छ।

लगातार वर्षाका कारण नदी तथा खोलानालामा जलसतह बढिरहेको र सडकमा बाढी तथा पहिरोको जोखिम रहेकाले जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ। सम्बन्धित निकायले जारी गर्ने सूचना तथा निर्देशन पालना गर्न पनि सर्वसाधारणलाई आग्रह गरिएको छ।


Read Previous

ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव

Read Next

पाल्पामा पहिरोको बितण्डा: दुई घर भत्किए, एक महिला बेपत्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar