
असोज। दुई दिनदेखि परेको अविरल वर्षाका कारण हनुमन्ते र गोदावरी खोलामा आएको बाढीले जोखिम बढाएपछि खोला किनारका टहरामा बस्दै आएका १५ परिवारका ९२ जनालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ।
हनुमन्ते खोलाको जलसतह बढेर टहरामा पानी पस्न थालेपछि बालकोट, कौशलटार, लोकन्थली र सागबारी क्षेत्रबाट उनीहरूलाई उद्धार गरिएको हो। प्रहरीले उद्धार गरिएका परिवारलाई कौशलटारस्थित आदर्श जनप्रेमी माध्यमिक विद्यालयमा राखेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख सूर्यबहादुर खड्काका अनुसार बालकोट र लोकन्थलीको सीमामा पर्ने सागबारी, हनुमन्ते, मनोहरा र गोदावरी खोला जोडिने त्रिवेणीस्थल आसपासबाट ९२ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो।
भक्तपुर-काठमाडौँ जोड्ने पुल जोखिममा, यातायात बन्द
यसैबीच, भक्तपुरको बोडे र काठमाडौंको मूलपानी जोड्ने मनोहरा खोलाको पुलसँगैको जमिन भासिएपछि उक्त सडकखण्डमा यातायात आवागमनमा रोक लगाइएको छ।
निरन्तर वर्षाका कारण मनोहरा खोलामा आएको बाढीले सडक तथा जमिन भासिएर पुलसमेत जोखिममा परेपछि सवारीसाधनको आवागमन रोकिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिए।
त्यस्तै, अविरल वर्षाका कारण हनुमन्ते, खस्याङ खुसुङ र गोदावरी खोलाको जलसतह बढेको छ। डेकोचा, पिखेल हुँदै चाँगुनारायणतर्फ जाने सडकमा समेत खोलाको पानी बढेपछि आवागमन प्रभावित भएको छ।
भक्तपुर-काभ्रे सडक सञ्चालन
वर्षासँगै आएको पहिरोका कारण केही समय अवरुद्ध भएको भक्तपुर-काभ्रे सडकखण्ड भने सञ्चालनमा आएको छ।
भक्तपुर नगरपालिकाको च्यामासिंहबाट ताथली हुँदै काभ्रेको नाला-बनेपा जोड्ने सडकखण्डमा पहिरो पन्छाएपछि यातायात सञ्चालनमा आएको हो। पहिरोका कारण आज बिहानदेखि च्यामासिंह-ताथली-नाला सडकखण्डमा सवारी आवागमन रोकिएको थियो।


