Nepal Purbadhar

पाल्पामा पहिरोको बितण्डा: दुई घर भत्किए, एक महिला बेपत्ता


असोज। अविरल वर्षासँगै गएको पहिरोले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ। जिल्लाका विभिन्न स्थानमा पहिरो खस्दा दुई घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने एक महिला बेपत्ता भएकी छन्। पहिरोका कारण विभिन्न सडकखण्डमा यातायातसमेत प्रभावित भएको छ।

रिब्दीकोट गाउँपालिका-६ धुस्तुङस्थित गोलफानमा बिहीबार दिउँसो गएको पहिरोले दुई ओटा घर पूर्णरुपमा क्षतिग्रस्त बनाएको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुंगा-माटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिरोले पुरिएका हुन्।

पहिरोमा परेर केसुरामको परिवारकी ५९ वर्षीया श्रीमती कृष्णकुमारी सारु बेपत्ता भएकी छन्। परिवारका अन्य सदस्य भने सकुशल रहेको प्रहरीले जनाएको छ। रामबहादुरको चार जनाको परिवार पनि सकुशल रहेको छ।

पहिरोले दुवै घर पूर्णरुपमा क्षतिग्रस्त भए पनि अन्य चौपायामा भने क्षति नभएको प्रहरीले जनाएको छ। लगातार पानी परिरहेको र घरभन्दा माथिको मोटरबाटोबाट ढुंगा-माटोसहितको लेदो निरन्तर बगिरहेकाले तत्काल उद्धार तथा खोजीकार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। बेपत्ता कृष्णकुमारीको खोजी जारी छ।

यसैबीच, सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका-३ स्थित तल्लो सिद्धबाबा मन्दिर नजिकै तथा तिनाउ-५ को चरचरे र जोरधाराबीचको सडकमा माथिबाट ढुंगा खसेपछि केही समय यातायात पूर्णरुपमा अवरुद्ध भएको थियो। पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइए पनि माथिबाट पहिरो तथा ढुंगा खस्ने क्रम नरोकिएको प्रहरीले जनाएको छ।

रिब्दीकोट गाउँपालिका-५ माराबास र बोदीस्थित बतासेबाट रैनादेवी छहरा गाउँपालिका जाने भित्री सडकखण्डमा पनि पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ।

त्यस्तै, सदरमुकाम तानसेनलाई पश्चिम भेगसँग जोड्ने प्रमुख सडक तानसेन-हार्थोक-छहरा सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेपछि सवारी आवागमन ठप्प भएको छ।

हार्थोक-बतासे सडकअन्तर्गत कसुमखोला क्षेत्रमा निर्माणाधीन सडकको माथिबाट पहिरो खस्दा यातायात सेवा पूर्णरुपमा प्रभावित भएको स्थानीय भुवन रायमाझीले बताए। सडक अवरुद्ध हुँदा सर्वसाधारणले आवतजावतमा सास्ती खेप्नुपरेको छ।

सडक अवरुद्ध हुँदा अत्यावश्यक सेवाका सवारीसाधनसमेत रोकिएका छन्। विशेषगरी बिरामी बोकेका एम्बुलेन्स तथा ग्रामीण क्षेत्रबाट सदरमुकाम र अन्य सहरमा दूध पुर्‍याउने दुग्ध ढुवानीका सवारीसाधन बाटोमै रोकिँदा समस्या भएको रायमाझीले बताए।

पहिरोका कारण दूधलगायत छिट्टै बिग्रिने अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध हुँदा कृषक तथा व्यवसायीसमेत प्रभावित भएका छन्।

स्थानीय प्रशासन तथा सम्बन्धित निकायले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छन्। तर, लगातार वर्षा भइरहेकाले पहिरो हटाउने तथा सडक सञ्चालन गर्ने काममा कठिनाइ भइरहेको जनाइएको छ।

यसैबीच, सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सिद्धार्थ राजमार्गको दोभान-सिद्धबाबा सडकखण्डमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय पाल्पाले बिहीबारदेखि सोमबारसम्म बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन बन्द गरेको जनाएको छ।


Read Previous

बाढी-पहिरोको उच्च जोखिममा २५ जिल्ला, भोलि पनि यातायात बन्द

Read Next

अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar